कर्णालीमा पानीको शुद्धता नाप्ने तालिम
सुर्खेत – कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले पानीको शुद्धता नाप्ने तालिम दिएको छ।
१० जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरण सहित १० जिल्लामा पठाएको छ। विज्ञसहितको टिमले २४ फागुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर कर्मचारी जिल्लामा पठाएको हो। १० जना कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए।
तालिममा सिकेको सिप अधिकतम रूपमा प्रयोग गरिने सहभागीले बताएका छन्। प्रत्येक जिल्लामा एकवटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ। प्रत्येक मेसिनलाई २ लाख ९० हजारमा खरिद गरी १० वटा जिल्लामा वितरण गरिएको मन्त्री सिंहले बताए।
कर्णालीका सबै पालिकामा माग भएअनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको मन्त्रालय सचिव डा. जगदीश कर्माचार्यले बताए। फोहर पानी पिउँदा धेरैलाई पानीजन्य रोग देखा परेको रिपोर्टका आधारमा पानी परीक्षणको काम सुरु भएको हो। साभार थाहाखबर







परिवर्तन संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १७:३५