Loading... आजः २०८३ बैशाख ५, शनिबार

स्वास्थ्यकर्मीले ७ महिनादेखि तलब पाएनन्

 

हुम्ला – जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मीले ७ महिनादेखि तलब पाएका छैनन् । कर्णाली प्रदेश सरकारले करार सेवाका २१ स्वास्थ्यकर्मी र कार्यालय सहयोगीको पारिश्रमिक नपठाउँदा उनीहरू तलबबाट वञ्चित भएका हुन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले साउनदेखि तलब पठाएको छैन । उनीहरूलाई मन्त्रालयले करारमा नियुक्त गरेको हो । लामो समयदेखि तलब नपाउँदा जीविकोपार्जनमा समस्या भएको स्वास्थ्यकर्मी कुसुम रावतले बताइन् । ‘अरू भत्ताको त कुरै छोडौं, तलबसमेत पाइएको छैन,’ उनले भनिन्, ‘कोरोना महामारीको तेस्रो लहरमा पनि चौबीसै घण्टा खटिएका थियौं, अहिले पनि डबल ड्युटी गरिरहेका छौं, तर तलब पाइएको छैन ।’ उनका अनुसार साउनबाट करार सेवाको नाममा नियुक्ति पनि आएको छैन । उनले नियुक्ति र तलब आउने आशामा अस्पतालमा खटिएको बताइन् ।

सरकारले निर्णय गर्न ढिलाइ गर्दा आफूहरू समस्यामा परेको अर्की स्वास्थ्यकर्मी निमा लामाले बताइन् । ‘घरखर्च सरसापटी र उधारोमै चलिरहेको छ,’ उनले भनिन्, ‘तलब नपाएको लामो समय हुँदा अहिले त पसलेले पनि उधारो पत्याउन छाडे ।’ जिल्ला अस्पतालले ४ एचए, १र१ जना स्टाप नर्स, ल्याब टेक्निसियन, एक्सरे सहायक, फार्मेसी सहायक र ८ जना कार्यालय सहयोगीलाई करारमा राखेको छ । उनीहरूलाई नियुक्ति नदिइए पनि अस्पतालले दैनिक ड्युटीमा खटाइरहेको स्वास्थ्यकर्मीको गुनासो छ । स्वास्थ्यकर्मीहरूका अनुसार अस्पतालले नियुक्तिपत्र र पारिश्रमिक एकैपल्ट आउने भन्दै नियमित हाजिर गराइरहेको हो ।

तलब नपाए पनि केही स्वास्थ्यकर्मीले डबल ड्युटीसमेत गरिरहेका छन् । २१ मध्ये ५ जना ओटीमा काम गर्ने स्वास्थ्यकर्मीलाई मात्र एक साताअघि नियुक्ति दिइएको छ । म्याद थपिएका उनीहरूले पनि तलब पाएका छैनन् । ‘कति दिन तलबबिनै काम गर्ने रु कि जाऊ भन्नुपर्‍यो, कि तलब दिनुपर्‍यो,’ लामाले भनिन्, ‘प्रदेश सरकारले निर्णय नगर्दा अन्योलमै काम गर्नु परिरहेको छ ।’ जिल्ला स्वास्थ्य सेवा प्रमुख प्रेमबहादुर सिंहले प्रदेशबाट स्वास्थ्य सेवा कार्यालयको करार सेवाको दरबन्दीअनुसार स्वास्थ्यकर्मीहरूलाई भर्ना गरिएको बताए । पटकपटक मन्त्रालयमा स्वास्थ्यकर्मीको म्याद थप र तलबका लागि माग गर्दा पनि बेवास्ता भएको उनको गुनासो छ । ‘काम गरिरहेकाले हटाउन पनि सकिएको छैन,’ उनले भने, ‘मन्त्रालयले निर्णय नगर्दा तलब पनि दिन सकिएको छैन ।’ कान्तिपुर दैनिक बाट