Loading... आजः २०८३ बैशाख ६, आईतवार

युक्रेन युद्ध : एक मिनेटमा ५५ जना बालबालिका शरणार्थी

राष्ट्रसंघको प्रारम्भिक आँकलनअनुसार रूसी आक्रमण शुरु भएदेखि अहिले पूर्वी युरोपेली यस देशबाट भागेका मानिसहरूको कुल संख्या ३० लाखभन्दा बढी पुगेको छ। ‘अहिले युक्रेनबाट छिमेकी देशमा मानिसको प्रवाह ३० लाखभन्दा बढी पुगेको हामीले प्रक्षेपण गरेका छौँ। यीमध्ये लगभग १ लाख ५७ हजार तेस्रो देशका नागरिक छन्,’ अन्तरराष्ट्रिय आप्रवासी संगठन (आइओएम) का प्रवक्ता पल डिलनले जेनेभामा भने।

फेब्रुअरी २४ मा रूसी आक्रमण शुरु भएदेखि अहिलेसम्म लगभग १५ लाख बालबालिका युक्रेनबाट बाहिरिएका छन्। गत २० दिनको दौरानमा युक्रेनमा हरेक दिन ७० हजारभन्दा बढी केटाकेटी शरणार्थी भएका छन्। संयुक्त राष्ट्र बाल कोषका प्रवक्ता जेम्स एल्डरले भने, ‘हरेक मिनेट ५५ जना बालबालिका देश (युक्रेन) छोडेर विदेशिने गरेका छन्।’

युक्रेनमा हिंसाबाट भागिरहेका १० मध्ये ९ जना महिला तथा केटाकेटीहरू रहेका युनिसेफका प्रवक्तालाई उद्धृत गरी राष्ट्रसंघको सञ्चार मामिला हेर्ने संगठन (युएन न्युज) ले उल्लेख गरेको छ।