दैलेखको गुराँस गाउँपालिकामा एमाले कार्यकर्ताले लगाए ताला
दैलेख – जिल्लाको गुराँस गाउँपालिकामा नेकपा एमालेका कार्यकर्ताले तालाबन्दी गरेका छन्। गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गाउँपालिकाको नीतिविपरीत आफूखुसी निर्वाचनको मुखमा कार्यकर्तालाई पाइप, जालीलगायत विभिन्न सामाग्री वितरण गरेको भन्दै एमाले गुराँस गाउँ कमिटीले गाउँपालिकामा आज (शुक्रबार) तालाबन्दी गरेको हो।
एमाले गुराँस गाउँ कमिटीका अध्यक्ष हिमबहादुर वलीद्वारा जारी गरिएको विज्ञप्तिअनुसार गाउँपालिका अध्यक्षलाई आफूखुशी काम नगर्न र काम गर्ने भए वडाध्यक्षसँग समन्वय गर्न ध्यानाकर्षण पत्र बुझाएको भए पनि निर्णयको अवज्ञा गरेको उल्लेख गरिएको छ। पटक–पटक सार्वजनिक सम्पत्ति दोहन र दुरुपयोग नरोकेसम्म गाउँपालिकामा तालाबन्दी गरी चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘सम्बन्धित वडाका अध्यक्ष र कार्यपालिकाको निर्णयविपरीत व्यक्तिगत ढङ्गले कार्यकर्ताकेन्द्रित पाइप, जाली वितरण गरेको र बिहीबार गुराँस आधारभूत विद्यालय रानिमत्ताबाट लत्ताकपडा, मेसिन, फिल्टरलगायत सामग्री अपारदर्शी ढङ्गले कहाँ लिन खोजिएको हो सोको जानकारी नगरी शङ्कास्पद ढङ्गले गाडीमा लोड गरेको अवस्थामा सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व ठानी तालाबन्दी गरिएको हो।’
गाउँपालिकाले विज्ञप्ति प्रकाशन गरी नेकपा नेकपा (एमाले) गुराँस गाउँ कमिटीले गरेको तालाबन्दीको भर्त्सना गरेको छ। गाउँपालिकाका अध्यक्ष खेमराज ओलीद्वारा जारी गरिएको विज्ञप्तिमा गाउँसभाबाट स्वीकृत कार्यक्रमअनुसार काम गरिरहेको र गाउँपालिकाले गरेको लोकप्रिय कामहरूबाट विचलित भएर एमाले कार्यकर्ताले यस्तो हरकत गरेको उल्लेख गरिएको छ।
गाउँपालिकाको स्वीकृति कार्यक्रमअनुसार काम हुँदै आएको र छापामार शैलीमा आएर एमाले कार्यकर्ताले ताला लगाउँदा गाउँपालिकाबाट सञ्चालन हुने कामहरू प्रभावित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।







परिवर्तन संवाददाता
१२ चैत्र २०७८, शनिबार ०८:१५