Loading... आजः २०८२ पुष १६, बुधबार

एमालेबाट निर्वाचित बेदकोटका नगर प्रमुख एकीकृत समाजवादीमा

नेकपा (एमाले) कञ्चनपुर प्रदेश समिति सदस्य तथा बेदकोट नगरपालिकाका नगर प्रमुख असोककुमार चन्दसहित दर्जनौं नेताले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन्।

नगर प्रमुखलगायत नेता तथा जनप्रतिनिधिलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बेदकोट नगरपालिका-३ को दैजीमा आइतबार टीका लगाएर पार्टी प्रवेश गराएका छन्। आठौं जिल्ला अधिवेशनमा पराजित अधिकांश एमाले कञ्चनपुरका नेताहरूले एकीकृत समाजवादी रोजेका छन्।

एमाले छाड्नेमा बेदकोटका नगर प्रमुख चन्दसहित बेदकोट-४ का वडाध्यक्ष भास्कर भट्ट, ३ का वडा अध्यक्ष तिलक ठकुल्ला, वडा नं ७ का अध्यक्ष बीरबहादुर डगौरा र १० का अध्यक्ष केशवसिंह रावल छन्। कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष दुर्गा भण्डारीको नाम घोषणा गरिए पनि उनी कार्यक्रममा अनुपस्थित भए।

बेदकोट नगरपालिका कार्यपालिका सदस्यहरू चेतराम कामी, दलबीर टमटा, तारा रैकाल, निर्मला बिष्ट, माया महरा र पिङ्की दमाई समाजवादीमा गएका छन्। एमाले जिल्ला कमिटी सदस्य देवबहादुर चन्द, रामचन्द्र रेग्मी, जिल्ला कमिटी सल्लाहकार पूजा पौडेल, भानमती खडायत, कर्ण खडायत, केशव रावलले पनि समाजवादी रोजेका छन्।

एमाले छाडेका नगर प्रमुख चन्दले अपमानित भएपछि समाजवादी प्रवेश गरेको प्रतिक्रिया दिएका छन्। उनले चुनावमा आफ्नो समूहबाट जितेका नेताले पनि उपयुक्त जिम्मेवारी नपाएको बताए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा आएका चन्द २०५९ मा एमाले प्रवेश गरी युवा संघको जिल्ला अध्यक्ष भएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद विघटनविरुद्ध सडकमा आएका चन्द एमाले विभाजनमा सहभागी नभई एमालेमै बसेका थिए। त्यसपछि एमाले आठौं जिल्ला अधिवेशनमा उनलाई उपाध्यक्ष वा सचिव बनाउन अन्तिमसम्म दबाब दिइएको थियो।