प्रधानमन्त्रीको बिजेपी कार्यालय भ्रमणबारे परराष्ट्रमन्त्री खड्काको स्पष्टोक्ति
काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस सभापतिको हैसियतमा मात्र सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) को मुख्यालयमा गएको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादाविपरीत बिजेपी पार्टीको मुख्यालयमा पुगेको चर्चा भइरहेका वेला मन्त्री खड्काले प्रधानमन्त्रीको हैसियतमा नभएर पार्टी सभापतिको हैसियतमा उनले सो भ्रमण गरेको स्पष्टीकरण दिएका हुन्। प्रधानमन्त्री देउवा आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले दिल्लीमा दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन मुख्यालयमै गएर भेट गरेको र त्यसलाई कूटनीतिक मर्यादाविपरित भन्न नमिल्ने पनि बताए।
परराष्ट्रमन्त्री खड्काले भने, ‘यो कूटनीतिक मर्यादाविपरित भन्ने धारणा ठिक होइन। नेपाली कांग्रेसको आदरणीय सभापति भएको नाताले नेपाली कांग्रेस अन्य विभिन्न देशका पार्टीसँग पनि एउटा मैत्रीपूर्ण सम्बन्ध राख्दै आएको छ। चीनको कम्युनिष्ट पार्टीसँग पनि कांग्रेसको राम्रो सम्बन्ध छ। त्यस्तै गरेर भारतको कांग्रेस पार्टीसँग पनि छ। र अहिले भारतीय जनता पार्टीमा उहाँ प्रधानमन्त्रीको नाताले जानु भएको होइन। उहाँ नेपाली कांग्रेसको सभापति भएको नाताले पार्टी पार्टीबीचको सम्बन्ध विस्तार गर्नका लागि, सम्बन्ध कायम गर्नका लागि उहाँ बिजेपी पार्टीको मुख्य कार्यालयमा जानु भएको हो।’








परिवर्तन संवाददाता
२१ चैत्र २०७८, सोमबार ०८:५३