Loading... आजः २०८२ पुष १३, आईतवार

ओलीलाई झलनाथको जवाफ : को ढक को क्विन्टल आगामी चुनावबाट देखिन्छ

काठमाडौ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एकीकृत समाजवादी ढक नभएर दशौँ क्विन्टल भएको दाबी गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि एक कार्यक्रममा पाँच दलीय गठबन्धनलाई एकएक किलोको ढक भनेपछि नेता खनालले त्यसको जवाफ फर्काउँदै यस्तो बताएका हुन्।

काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै खनालले भने, ‘केपी ओलीले उनको पार्टी क्विन्टल हाम्रो पार्टी ढक भनेका छन्। ओलीको पार्टी ढक हो कि क्विन्टल हो? आगामी निर्वाचनबाट देखिन्छ। पछिल्लो नतिजालाई हेर्दा हरेक जिल्लामा एकीकृत समाजवादी टन होइन दशौँ टन बन्छ हेर्दै जानुस्।’

चुनावको घोषणापत्र ल्याएपछि पार्टीको लक्ष्य, नीति र विचार स्पष्ट हुने खनालले बताए।

उनले भने, ‘हामी समाजवादी क्रान्तिको चरणमा जाँदै छौँ। समाजवादको बाटोमा जानु आवश्यक छ। अहिले नीति केपी ओलीले दक्षिणपन्थी आहालमा हाल्न थाले। आधारातमा विदेशी गुप्तचरसँग छलफल गरे। गैरजिम्मेवारी व्यक्तिको हातमा सत्ता पुगेपछि देशले दुःख पायो।’

ओलीको अवसरवादको खण्डन गरेर कम्युनिष्ट पार्टीलाई बलियो बनाएर लानुपर्ने जिम्मेवारी आफ्नो हातमा आएको बताए। उनले आगामी निर्वाचनको आचारसंहितालाई कार्यान्वयन गर्ने वातावरण बनाउन सबैलाई आग्रह गरे। गठबन्धन जोगाएर सहमतिअनुसारको उम्मेदवार चयन गर्नुपर्ने समेत बताए।