Loading... आजः २०८२ पुष १३, आईतवार

कार्यकर्ताको असन्तुष्टिबीच जुम्लामा गठबन्धन दलहरूको तालमेल

 

जुम्ला –जुम्लामा कार्यकर्ताहरूको चर्को असन्तुष्टिका बीच सत्ता गठबन्धन दलहरुले पालिकादेखि वडा स्तरसम्म तालमेल गर्ने सहमति गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पालिकादेखि वडा स्तरसम्म तालमेल गर्ने सहमति गरेका हुन् ।

तीनै दलले संयुक्त विज्ञप्ति निकालेर तालमेल गर्ने विषयमा ध्यान केन्द्रित गर्न नेता कार्यकर्तालाई आह्वान गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘संविधान र संघीय व्यवस्था रक्षाको लागि गठबन्धन थप आवश्यकता हो । केन्द्रको निर्देशन अनुसार जुम्लामा पनि पालिका र वडा तहसम्म तीन दलबीच गठबन्धन गर्ने सहमति भएको छ । मातहतका कार्यसमिति, सम्पूर्ण नेता, कार्यकर्ता र मतदाताको लागि जानकारीका लागि यो विज्ञप्ति जारी गरेका छौं ।’

जसका लागि नेपाली कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलमा माओवादी केन्द्रका संयोजक वीरबहादुर कुंवर र एकीकृत समाजवादीका अध्यक्ष तीर्थबहादुर बुढा सदस्य छन् । तीन सदस्य पछि थप्ने गरी पालिका र वडासम्म तालमेल गरेर जाने नीतिगत निर्णय भएको सभापति शाहीले जानकारी दिए ।

उनले भने, ‘कार्यदलले पूर्णत पाइसकेको छ । अब स्थानीय तहको बाँडफाँटको कार्य प्रारम्भ हुन्छ ।’ केन्द्रबाटै कांग्रेस सभापतिको संयोजकत्वमा कार्यदल बनाउन परिपत्र आएपछि जिल्लास्तरमा पनि तालेमलको प्रक्रिया अघि बढेको हो ।

‘केन्द्रमा सत्ता साझेदार दलहरुबीच तालमेल गर्ने सहमति बनेको छ । उक्त सहमतिको कार्यान्वयन जुम्लामा पनि भइसकको छ,’ सभापति शाहीले भने, ‘केन्द्रको नीति, निर्देशन र सिद्धान्त मान्ने गरी जिल्लामा पार्टी बनेका हुन् । केन्द्रबाट नै गठबन्धनको प्रयत्न गर्नुस् भनेकोले जुम्लामा प्रयास भइरहेको छ । केन्द्रको निर्देशन लत्याउन सक्ने अवस्था छैन । तर जिल्लाबाट सहमति हुन नसकेको खण्डमा केन्द्रसँग आग्रह गर्न सक्ने अवस्था रहन्छ ।’