Loading... आजः २०८३ बैशाख ९, बुधबार

अवसर सिर्जना गर्न प्रदेश सरकार प्रयत्नरत ;मुख्यमन्त्री शाही

जुम्ला — कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा शिक्षा, स्वास्थ्य र रोजगारका अवसर सिर्जना गर्न प्रदेश सरकार प्रयत्नरत रहेको बताएका छन् । उनले सार्वजनिक शिक्षा र गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकारको सहयोग आवश्यकता र स्थानीय तहले कसरी काम गरिरहेका छन् भन्ने सन्दर्भमा समेत छलफल गरिएको बताए ।

उनले भने, ‘अहिलेको आवश्यकता गुणस्तरीय शिक्षा हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै रोजगारीको अवसर खोज्नु पर्ने अवस्था हो । प्रदेश सरकार यही बाटोमा अघि बढेको छ । सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ ।’

जुम्ला रारा अल्ट्रा म्याराथनका लागि जुम्ला पुगेका मुख्यमन्त्री शाहीले सबै मिलेर विकासको लागि अघि बढ्नुपर्ने बताएका थिए । कर्णालीमा उत्पन्न हवाइ समस्या संवोधनका लागि पहल भइरहेको पनि उनले बताए । ‘सरकारी जहाजको उडान बढाउनेबारे छलफल भइरहेको छ । निजी विमान कम्पनीलाई पनि नियमित कर्णालीमा उडान गर्न आग्रह गरिएको छ,’ मुख्यमन्त्री शाहीले बताए । निजी उडान फाइदाको लागि चलेको र ऋणमा समेत डुबेको हुनाले उनीहरुलाई कर्णालीमा उडान भर्न बाध्यता लगाउन नसकिने उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारको माताहतमा भएकोले पहल गर्नुको विकल्प छैन । उडान थप्न कर्णाली सरकारले पहल गरिरहेको छ ।’

यस क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा बजेट खर्च सन्तोषजनक रहेको बताएका थिए । कर्णालीमा अहिलेसम्म १८ प्रतिशतभन्दा बढी बजेट खर्च भएको छ । आगामी जेठ महिनासम्म ८० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ ।

साभार कान्तिपुर दैनिक