Loading... आजः २०८२ पुष ६, आईतवार

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न सर्वोच्चकाे आदेश

 

काठमाडौं-  बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बिहीबारको बृहत पूर्ण इजलासले सरकारले निजगढमा विमानस्थल बनाउनका लागि अहिलेसम्म गरेका सबै निर्णय बदर पनि गरिदिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

रञ्जुहजुर पाँडे क्षेत्रीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइ  दायर गरेको रिटमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले यस्तो आदेश गरेको हो।

अर्को अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र विकल्प खोज्न पनि अदालतले आदेश दिएको प्रवक्ता पौडेलले बताए।

तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करीब २४ लाख सालका रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो।

वातावरण संरक्षणका अभियानकर्ताले निजगढमा विमानस्थल बनाउँदा त्यसले वातावरणीय सन्तुलन र वन्यजन्तुलाई अपूरणीय क्षति पुर्‍याउने भन्दै विरोध गर्दै आएका थिए।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि निजगढ विमानस्थल बनाउने उल्लेख गरिएको छ।  थाहा खबर बाट