Loading... आजः २०८२ पुष ४, शुक्रबार

प्रदेश सरकारअन्तर्गत रहेको निर्माण कार्य इस्टिमेट विपरीत

 

दैलेख – प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय दैलेख मातहत निर्माण हुँदै गरेको नाली निर्माणको काम निर्माण कम्पनीले इस्टिमेट विपरीत गरेको पाइएको हो।
दैलेखको नारायण नगरपालिका–६ मा निर्माणाधीन बसपार्क ढुंगेखानी सडकमा नाली निर्माणको काम इस्टिमेट विपरीत भएको पाइएको छ।

पूर्वाधार कार्यालयका सब इन्जिनियर राकेश यादवले नाली निर्माणको काम इस्टिमेट विपरीत गरिएको बताएका छन्। उनले इस्टिमेट अनुसार पीसीसीमाथि पीसीसी गर्नुपर्ने थियो, फिल्डमा हेर्दा त्यसो नदेखिएको बताए। उनले नाली निर्माणमा प्रयोग गरिने सरिया समेत कम प्रयोग गरिएको बताए।

इस्टिमेट विपरीत नाली निर्माणको काम ४० मिटर बराबर पीसीसी गरिएको छ। सब इन्जिनियर यादवले इस्टिमेट विपरीत गरिएको काम पुनः गर्न लगाइने बताएका छन्। निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै नाली निर्माणका लागि पीसीसी गरिएको केही भाग समेत भत्काइएको छ।

नाली निर्माणको जिम्मा दैलेखकै जयदुर्गा एसएस निर्माण कम्पनीले लगेको जनाइएको छ। निर्माण लागतका विषयमा बुझ्दा पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकरप्रसाद सिंहले आफूलाई जानकारी नभएको बताए।

‘आज बिदा छ, कति लागतमा ठेक्का भएको हो, आफू फिल्डमा भएकाले ठ्याक्कै जानकारी छैन, इस्टिमेट विपरीत काम गरिएको भन्ने विषयमा आफूले स्थलगत हेरेर मात्र भन्न सक्छु’, कार्यालय प्रमुख शाहले भने।

स्थानीयले पूर्वाधार कार्यालयको लापरबाहीका कारण नाली निर्माणको काम गुणस्तरहीन गरिएको आरोप लगाएका छन्। एक स्थानीयका अनुसार सम्बन्धित कार्यालयले काम कस्तो भएको छ भन्ने विषयमा बेलैमा चासो नदेखाउँदा यस्तो अवस्था आएको बताए।

जय दुर्गा निर्माण कम्पनीका सञ्चालन अशोक थापाले इस्टिमेट विपरीत नाली निर्माणको काम भएको भए प्राविधिकले रोक्नुपर्ने बताए। उनले भने, ‘काम अर्को व्यक्तिले जिम्मा लगेका छन्, कसरी काम भएको छ, साइट हेर्ने प्राविधिकले इस्टिमेट विपरीत भए रोक्नुपर्छ।’

यता नारायण नगरपालिका–६ का वडाध्यक्ष जनक न्यौपानेले गुणस्तरहीन काम भएको भए तत्काल रोक्न लगाउने बताए। उनले आफूले नाली निर्माणको इस्टिमेट माग्दा समेत नपाएको गुनासो गरेका छन्।

‘वडाध्यक्षले कामको इस्टिमेट माग्दा पाएको छैन, फिल्डमा इस्टिमेट गर्दा एक र काम गर्दा फरक देखिएको छ, उपभोक्तालाई गुमराहमा राखेर विकासे काम गर्न नमिल्ने हो, यो विषयमा थप चासो दिन्छु’, उनले भने।

जयदुर्गा एसएस निर्माण कम्पनीले दैलेख सदरमुकामभित्रको सडक मर्मत गर्नुपर्ने ठेक्का पाएको भए पनि अहिलेसम्म काम शुरु गरेको छैन। नारायण नगरपालिकाभित्र सडक मर्मतको काम असार मसान्तसम्म सकाउनुपर्ने पूर्वाधार विकास कार्यालयले जनाएको छ। थाहा खबर बाट