Loading... आजः २०८१ जेष्ठ ६, आईतवार

कार्यकक्षमै रक्सीले लठ्ठ कर्मचारीहरु ‘विप्लव’ माओवादीकाे फन्दामा

सुर्खेत –  जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धितालसहित अन्य कर्मचारी कार्यालयमै मदिरा सेवन गरी मातेका अवस्थामा भेटिएका छन्।

बेलुका सात बजे कार्यालय प्रमुख, प्रशासन अधिकृत, सुब्बा, लेखापाल, कृषि प्राविधिकसहितका कर्मचारी कार्यकक्ष परिसरमै मदिरा सेवन गरिरहेका पाईएको हो।

नेत्र विक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपा माओवादी जाजरकोटले कार्यालयमा मदिरा सेवन गरिरहेका उनीहरुलाई पक्राउको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई जानकारी गराएको छ।

उनीहरु कार्यालयको ढोका बन्द गरी नागरिक कक्षमा मदिरा सेवन गरिरहेका थिए। सार्वजनिक बिदाको दिन भन्दै कार्यालय भित्र प्रवेश गरी मदिरा सेवन गर्नु कस्तो गैरजिम्मेवारीपन भन्दै नेकपा माओवादी भेरी नगर कमिटी इन्चार्ज विराजन शाहीले कारवाहीको माग गरेको बताए।

बिदाको दिन भएकोले आफ्नै क्वार्टरको बाहिर साथीभाई बसिरहेको तर मदिरा सेवन नगरेको कार्यालय प्रमुख धितालले बताए। यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले यस बिषयमा आवश्यक कारबाही गरिने बताए।

उनले भने, ‘भोलि बिहान छलफलका लागि बोलाएका छौँ, आवश्यक कारबाही हुन्छ।’

कार्यालय समयमा र सार्वजनिक बिदाबाहेक अन्य समयमा भए तत्कालै नियन्त्रणमा लिई कारबाही गरिने तर सार्वजनिक बिदाको दिन क्वार्टर नजिकै भएकोले नियन्त्रणमा नलिएको प्रजिअ शाहीले बताए। थाहाखबर बाट