Loading... आजः २०८१ बैशाख २३, आईतवार

मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गर्ने सत्ता गठबन्धनको समझदारी

अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने

काठमाडौँ –  सत्तारुढ गठबन्धनमा आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको छ । सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विभिन्न मितिमा छलफल भएको र मंसिर ४ गते नै गर्ने भन्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको बैठकमा सहभागी एक नेताले बताए । ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएर मंसिर ४ गते नै निर्वाचन गर्ने भन्ने विषयमा समझदारी बनेको छ,’ ती नेताले भने, ‘अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने पनि समझदारी बनेको छ ।’

निर्वाचन आयोगले सिफारिस गरेको मितिअनुसार नै मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको ती नेताको भनाइ छ । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने बताइएको छ । कान्तिपुर दैनिक बाट