Loading... आजः २०८३ बैशाख ५, शनिबार

कांग्रेस नेता प्रदीप गिरिको निधन

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ।

ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरिको शनिबार राति साढे ९ बजे निधन भएको जानकारी नेपाली कांग्रेसले विज्ञप्तिमार्फत् दिएको हो। उनी ७५ वर्षका थिए।

कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले हस्ताक्षर गरेको विज्ञप्तिअनुसार उनको अन्त्येष्टि आइतबार गरिनेछ।

आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पतालकै शिवालयमा उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि राखिनेछ। साढे ११ देखि २ बजेसम्म ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिनेछ। त्यसपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिने विज्ञप्तिमा उल्लेख छ।

सरकारी समाचार संस्था राससले पनि गिरीका उपचारमा संलग्न क्यान्सर विशेषज्ञ डा. पंकजकुमार बर्मनलाई उद्धृत गर्दै शनिबार राति साढे ९ बजे उनको निधन भएको लेखेको छ।

समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि नेपाल फर्किएका थिए।

घाँटीको क्यान्सर भएपछि भारत गएर शल्यक्रिया गरेका गिरि गत साउन ९ गते मेडिसिटी अस्पताल भर्ना भएका थिए। उनलाई निमोनियाले च्याप्नुका साथै शरीरका धेरै अंगले काम गर्न छाडेका थियो ।