प्रदेशको अधिकार सुदृढ गर्न कर्णाली सरकारको पहल

कृष्ण शर्मा ।
सुर्खेत -कर्णाली प्रदेश सरकारले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत (एलजिएओ) खटाउने अधिकार प्रदेश सरकारलाई दिन संघीय सरकारसँग पुनः पत्राचार गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिधै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउने व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने निष्कर्ष निकालेको हो। प्रदेश सरकारले संघबाट एकमुष्ट रूपमा कर्मचारी प्रदेशमा पठाई आवश्यकताअनुसार स्थानीय तहमा खटाउने व्यवस्था गर्न माग गरेको छ।
प्रदेश सरकारका अनुसार यस्तो व्यवस्थाले प्रदेशको प्रशासनिक स्वायत्तता मजबुत बनाउने र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बैठकले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण कार्यलाई तीव्रता दिने, सुर्खेतमा नेपाल टेलिभिजनको प्रसारण कार्यालय स्थापना गर्ने, तथा कर्मचारीहरूको बिदा तथा उपदान भुक्तानीका लागि आवश्यक बजेट व्यवस्था गर्ने निर्णय पनि गरेको छ।







परिवर्तन संवाददाता
१४ पुष २०८२, सोमबार ०७:२६