जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरियो

काठमाण्डाै – बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरिएको छ ।
पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । गएराति चिनियाँ क्षेत्रमा गएको पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ ।
पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । कुनै पनि बेला बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जाने समयका लागि जलाशय खाली गराइएको हो । उहाँका अनुसार तामाकोशीको बाँध ५ हजार घनमिटरसम्मको बाढी थेग्न सकिने गरी निर्माण गरिएकाे छ ।
तामाकोशी नदीमा पानीको बहाव अहिले स्थिर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अहिलेसम्म बाढी नआए पनि जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन नदी आसपासका स्थानीय बासिन्दालाई आग्रह गरिएको छ ।







परिवर्तन संवाददाता
५ असार २०७८, शनिबार १३:१०