Loading... आजः २०८१ बैशाख २३, आईतवार

सत्ता गठबन्धनलाई सिट बाँडफाँटमै चुनौती

काठमाडौँ – सरकारले आमनिर्वाचनको मिति घोषणा गरेपछि पाँचदलीय सत्ता गठबन्धनका नेता तालमेलको गृहकार्यमा जुटेका छन् । प्रतिनिधिसभाका १ सय ६५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्र एकमुष्ट बाँडफाँट गर्ने तयारी भए पनि सहमति जुटाउन सत्ता गठबन्धनलाई सहज देखिँदैन ।

कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बस्ने गठबन्धन बैठकले कार्यदल बनाउने र त्यसले तयार पारेको ढाँचाका आधारमा न्यायोचित हिसाबमा सिट बाँडफाँट हुने बताए ।

एकातिर सत्ता गठबन्धनभित्रै सिटका लागि रणनीतिक प्रतिस्पर्धा छ भने अर्कातर्फ पार्टीमा आन्तरिक व्यवस्थापन मिलाउने चुनौती छ । माओवादी र एकीकृत समाजवादीभित्रको एउटा समूहले अझै पनि वाम गठबन्धनको कसरत जारी राखेको छ ।

माओवादी नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत वाम गठबन्धनमा देखिएका छन् । ‘वाम गठबन्धन’ बार्गेनिक कार्ड मात्रै त होइन भन्ने संशय पनि छ । कांग्रेस केन्द्रीय कार्यसमितिले गत साउन २ मै बहुमत ल्याउने दिशामा अधिकतम सिट लिएर चुनावी गठबन्धन गर्ने निर्णय गरिसकेको छ ।

कांग्र्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि प्रधानमन्त्री हुने चाहना राखेका छन् । उनी माओवादीबाहेक साना दलको सहयोग लिएर कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने गरी सिट मिलाउने रणनीतिमा छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो पार्टीलाई सरकार निर्माणको निर्णायक हैसियतमा पुर्‍याउन चाहन्छन् । उनी आफैंसमेत प्रधानमन्त्रीका दाबेदार हुन् । उनले चुनावपछि कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री हुने बताइसकेका छन् । माओवादीलाई प्रत्यक्षतर्फ एमालेभन्दा ठूलो पार्टी बनाउने दाहालको योजना छ । कार्यकारी प्रमुख बन्ने देउवा र दाहालको आन्तरिक रणनीतिका माझ सिट बाँडफाँट सहज नहुने नेताहरू बताउँछन् ।

कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माका अनुसार सुरुमा सिट संख्या टुंग्याउनै गठबन्धनलाई सकस पर्नेछ ।  एकीकृत समाजवादीका एक पदाधिकारीले एक्लै बहुमतनजिक पुग्ने कांग्रेसको दाउ र उसलाई आफूहरू बिना बहुमतमा जान नदिने माओवादी रणनीतिका कारण गठबन्धनबीच सिट बाँडफाँट मुख्य समस्या हुने बताए ।

माओवादी नेता शक्ति बस्नेत पनि मुख्य चुनौती सिट बाँडफाँटमा देख्छन् । ‘गठबन्धन जति धेरै दलका बीचमा भयो, सिट संख्याको सीमामा सीमितता बढी हुन्छ । परिणाम के आउँछ त्यो दोस्रो कुरा हो तर उम्मेदवारी दिँदा सीमित ठाउँमा दिनुपर्ने हुन्छ ।

कांग्रेस नेता प्रदीप पौडेलका अनुसार गठबन्धनको औचित्यका बारेमा कार्यकर्ता तहमा बुझाउन नसक्दा तलदेखि नै असन्तुष्टि बढ्ने जोखिम रहेको बताउँछन् । नेता, कार्यकर्ता र मतदातालाई विश्वासमा लिन सक्दा मात्रै मत ट्रान्सफरमा इमानदारी बढ्ने उनी बताउँछन् ।

नेताहरू सिट बाँडफाँटका लागि ढाँचा बनाउनै सकस पर्ने बताउँछन् । यसअघि प्रत्यक्षमा आफूले जितेका क्षेत्र सुरक्षित राखेर एमालेले जितेका स्थानमा भागबन्डा गर्नुपर्ने विषय उठे पनि सबै ठाउँमा यो ढाँचा काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन् । अनौपचारिक छलफलका क्रममा कांग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गर्ने भएका छन् ।

सत्ता गठबन्धनका सबै दलमा आन्तरिक शक्ति सन्तुलन मिलाएर भागबन्डा गर्ने जटिलता पनि छ । कांग्रेसमा यो समस्या अझ बढी छ । कांग्रेस नेता शेखर कोइराला र उनीपक्षीय नेताले गठबन्धन गरेर चुनावमा जाने निर्णयलाई सहज रूपमा स्वीकार गरेका छैनन् । कोइरालापक्षीय केन्द्रीय सदस्य सञ्जय गौतम दलहहरूका बीचमा गठबन्धन गर्ने तर आन्तरिक व्यवस्थापनमा बेवास्ता गर्ने हो भने त्यसले सकारात्मक प्रभाव नपार्ने बताउँछन् ।