Loading... आजः २०८१ बैशाख १९, बुधबार

लगानी सम्मेलन स्थगीत हुने सम्भावना

योजना आयोग पदाधिकारीविहीन

सुर्खेत – कर्णालीमा हुन लागेको लगानी सम्मेलन यस पटक पनि स्थगीत हुने सम्भावना देखिएको छ ।
लगानी सम्मेलनको तयारी गरिरहेको प्रदेश योजना आयोग पदाधिकारीविहीन बनेपछि सम्मेलन स्थगीत हुने सम्भावना देखिएको हो ।

निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले यही वैशाखमा लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको थियो । वैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा सम्मेलन गर्नेगरी तयारी थालिएको थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । आर्थिक, सामाजिक र सुशासन समितिसमेत गठन गरेर काम अघि बढाइएको थियो । तर गत चैत २७ गतेदेखि प्रदेश योजना आयोग पदाधिकारीविहीन भएको छ ।

प्रदेश योजना आयोगले यही वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने गरी प्रदेश सरकारलाई कार्ययोजना प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृतसमेत गरिसकेको छ । २०८० माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १९ र २० गते कर्णाली प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने निर्णय गरेको हो । दुई पटक लगानी सम्मेलनको योजना विफल बनेको आयोगका निवर्तमान उपाध्यक्ष योगेन्द्र शाहीले बताए । धेरै काम समेत अघि बढिसकेको अवस्थामा सरकार फेरबदलले गर्दा सम्मेलन अन्योल बनेको उनको भनाइ छ । ‘सोहीअनुसार गतिविधि अगाडि बढेका थिए,’ शाही भन्छन्, ‘दश वटा लगानीका प्रस्ताव तयार भएका थिए । अहिले हामी आयोगमा छैनौँ । अहिलेको सरकारले यो कुरालाई प्राथमिकतामा राख्नुपर्छ ।’

उनका अनुसार लगानी सम्मेलनका लागि २०८० चैत ८ देखि १० गतेसम्म काठमाडौंमा बृहत् छलफलसमेत गरिएको थियो । पदाधिकारी नहुँदा लगानी सम्मेलन आयोजनामा असर परेको छ । ठूला विकास आयोजना सञ्चालन गर्न कर्णाली प्रदेशमा बाह्य लगानी भिœयाउने योजना अनिश्चित बनेको हो । यसअघिको आयोगले पटक–पटक लगानी सम्मेलन गर्ने कार्ययोजना तय गरे पनि असफल भएको थियो ।