Loading... आजः २०८३ बैशाख ३, बिहीबार

युक्रेनको बुचामा युक्रेनीहरूको नृशंस हत्या (तस्वीर)

 

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले राजधानी किभनजिकै रहेको बुचा शहरमा रुसी सेनाले ३ सयभन्दा धेरै युक्रेनीलाई चरम यातना दिएर हत्या गरेको बताएका छन्।

उनले किभस्थित आफ्नो कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी सेनाले बुचामा क्रुरतापूर्ण आक्रमण गरेको आरोप लगाएका छन्। उनले बुचामा ३ सय भन्दा बढीको हत्या गरेको र सयौंलाई यातना दिएको बताए। ‘यसबारे हामी अनुसन्धान गरिरहेका छौं। पूर्ण विवरण आउँदासम्म संख्या अझ बढ्न सक्छ’, सम्बोधनमा उनले भने।

जेलेन्स्कीले रुसमाथि लगाएको आरोपको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। ​बुचामा केही दिनको हिंसापश्चात् युक्रेनी सेनाले रुसी सेनालाई पछि हट्न बाध्य बनाएको थियो।

बुचाका सडकमा छरिएका शवका तस्वीर इन्टरनेटमा भाइरल भएका छन्। अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै स्थानीयले आफ्ना देशवासीको हत्या रुसी सेनाले गरेको बताएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुचामा मारिएका व्यक्तिका सार्वजनिक तस्वीरबारे स्वतन्त्र छानबिन गर्न आग्रह गरेका छन्।