Loading... आजः २०८१ बैशाख २०, बिहीबार

नयाँ सत्रको विद्यार्थी भर्ना वैशाखमा, जेठ १ देखि पठनपाठन

 

काठमाडौँ — शिक्षा तथा मानवस्रोत विकास केन्द्रले वैशाखमै शैक्षिकसत्र २०७९ को विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न देशभरका स्थानीय तह र विद्यालयलाई परिपत्र गरेको छ । यसअघि शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले जेठ १ मा नयाँ शैक्षिक सत्र सुरु गर्ने गरी २०७८ को शैक्षिक कार्यक्रम अघि बढाउन निर्देशन दिएका थिए ।

 

केन्द्रले भने जेठ १ देखि पठनपाठन थाल्ने गरी शैक्षिक सत्र अघि बढाउने निर्णय गरेको छ । ‘वैशाखभर विद्यार्थी भर्ना गरिसक्ने र जेठ १ बाट कक्षा सञ्चालन गर्ने कार्यतालिका बनाएका छौं,’ केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले भने ।

कोभिड महामारीको दोस्रो र तेस्रो लहरका कारण चैत मसान्तमा सकिने शैक्षिकसत्र एक महिना पर धकेलिएको हो । चालु शैक्षिक सत्र गत असार १ मा सुरु भएको थियो । जनक शिक्षा सामग्री केन्द्रले जेठ १ सम्म विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने प्रतिबद्धता जनाएको छ । जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा पाएको छ । कक्षा १–३ को किताब निजी पब्लिकेसनले छपाइ बिक्रीवितरण गर्दै छन् । केन्द्रले हालसम्म १ करोड ५५ थान पाठ्युपस्तक छापिसकेको जनाएको छ । ‘अब करिब ४० लाख थान पुस्तक छाप्न बाँकी छ,’ जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले भने ।