Loading... आजः २०८१ बैशाख २१, शुक्रबार

पल शाहविरुद्धको थुनछेक बहस सकियो

काठमाडौं : जिल्ला अदालत नवलपुरमा नायक पल शाहविरुद्धको थुनछेक बहस सकिएको छ। नाबालिका बलात्कारको अभियोग लागेका शाहविरुद्ध आज नवलपुर अदालतमा तीनजना सरकारी वकिल बुद्धबहादुर थापा, डालबहादुर नेपाली र कमल पन्थीले बहस गरे। पीडित पक्षका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका हुन्।

उनीहरूले बहसमा हदैसम्मको कारबाहीको माग राखेका छन्। साथै अभियुक्त शाहलाई थुनामै राख्नुपर्ने तर्क पेश गर्दै कानुनअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका छन्।

यस्तै अभियुक्त शाहका तर्फबाट नौजना वकिलले बहस गरेका छन्। वरिष्ठ अधिवक्ता वेदुनाथ खनाल र कमलामोहन वाग्ले, अधिवक्ताहरू गणेशप्रसाद अधिकारी,  भानुभक्त सुवेदी,  जनकराज ढुङ्गाना,  चेतनारायण भुषाल,  मिलनध्वज शाही,  माधव घिमिरे र बालकृष्ण गैह्रेले बहस गरे।

उनीहरूले शाहमाथि झूटो आरोप लगाइएको तर्क पेश गरेको अदालतका प्रवक्ता एवं तहसिलदार लालबहादुर क्षेत्रीले थाहा खबरलाई जानकारी दिए।

अभियुक्त शाहलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउने, साधारण तारेखमा छाड्ने वा धरौटीमा छाडिने आदेश आजै आउने प्रवक्ता क्षेत्रीले बताए।

जिल्ला प्रहरी कार्यालय तनहुँमा हिरासतमा रहेका शाहलाई हिजो जिल्ला अदालत नवलपुरमा पुर्‍याएर बयान लिइएको थियो।

पीडित किशोरीले आफूमाथि शाहले एक वर्षअघि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र पूर्वी नवलपरासीमा मुद्दा दर्ता गराएकी थिइन्। पीडितको जाहेरीका आधारमा शाहविरुद्ध नवलपुर अदालतमा गत चैत ३ गते सरकारी वकिलमार्फत मुद्दा दर्ता भएको थियो।