३८ वर्षपछि सुकुम्बासीलाई लालपुर्जा
![]()
सुर्खेत – ७२ वर्षीया सगेनी सर्केनी आफ्नै नामको लालपुर्जा बोकेर शुक्रबार खुला चौरमा छमछमी नाचिरहेकी थिइन् । उनी नाचेको देखेर राष्ट्रिय भूमि आयोगको केन्द्रीय अध्यक्ष केशर निरौला पनि स्टेजबाट झरे र उनीसँगै नाचे ।
२००४ मा रुकुमको चौरजहारीबाट सुर्खेतको भेरीगंगा नगरपालिकास्थित मैनतडा झरेका सर्केनीका बाबु र पति पनि लालपुर्जाकै आशमा मरे । ‘यो लालपुर्जाभित्र धेरैका सपना छन,’ केहीबेर नाचेर सबैसँग खुसी साट्दै उनले भनिन्, ‘अहिले मैले ठूलो युद्ध जितेकोजस्तो महसुस भएको छ ।’
उनका छिमेकी ७० वर्षीय हर्कबहादुर रोकाय पनि झन्डै ५६ वर्ष यो बस्तीमा सरे । ‘आफ्नै जीवनमा लालपुर्जा पाउँछुजस्तो लागेकै थिएन,’ उनले भने, ‘लालपुर्जा नहुँदा अभावै अभावमा बाँचिएको थियो, अब हाम्रा छोरानातिले सुख पाउने भए ।’
सुर्खेतको गुर्भाभाकोट र भेरीगंगा नगरपालिकाका भूमिहीनहरूले ३८ वर्षपछि लालपुर्जा पाएका छन् । रुकुम, सल्यान र जाजरकोटबाट बस्ती सर्दै सुर्खेत पुगेका उनीहरूको वर्षौंपछिको लालपुर्जा सपना शुक्रबार पूरा भएको छ । २०२२ मा स्थानीय अगुवा चन्द्रबहादुर शाहीले मैतडामा बस्ती बसालेका थिए । तर नापीनक्सा भने २०४० मा भएको थियो ।
गुर्भाकोट नगरपालिका–८ का वडाध्यक्ष पदम खत्रीले बस्तीमा बसेको झन्डै ५६ वर्षपछि लालपुर्जा पाउँदा बस्ती नै दंगिएको बताए । उनका अनुसार वडाका ६ सय ७७ मध्ये पहिलो चरणमा १ सय २ परिवारले लालपुर्जा पाएका छन् । छोटो समयकै तयारीमा आयोगले भूमिहीनहरूलाई लालपुर्जा वितरण गरेको आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले बताए ।








परिवर्तन संवाददाता
२६ चैत्र २०७८, शनिबार १८:५५