Loading... आजः २०७८ श्रावण १२, मंगलवार

कोरोनाले उतारिदिएको पुँजीवादको मुकुण्डो

गौरीलाल कार्की

कोभिड–१९ महामारीले सिङ्गो मानवजातिलाई असीमित क्षति गरेको छ । तर यसले पुँजीवादी तथा साम्राज्यवादी विश्व (अर्थराजनीतिक सम्बन्धका केही महत्वपूर्ण विशेषता पनि सतहमा ल्याइदिएको छ ।

पुँजीवादी सम्पन्नता र वास्तविक सम्पन्नता एउटै होइन । कुनै प्रकारले पनि पुँजीवाद समाज सम्पन्नता नै होइन, समाजमा अनेकौं समस्या जन्माउने जड हो । यसले श्रमजीवी वर्गको चरम शोषण गर्छ । पुँजीवाद मानव समाजको लागि संकटको श्रोत र दरिद्र मानसिकताको उपज हो । विश्वमा समृद्धि, सम्पन्नता र समाधान भनेको पुँजीवाद नै हो भन्ने भ्रम स्थापित छ । पुँजीवादको सक्कली अनुहार भिन्नै प्रकारको हुन्छ । यसले दुनियाँलाई झुक्याउन मुकुण्डो भिरेर विश्वमा विराजमान भएको छ । विश्व पुँजीवाद र साम्राज्यवादको मुकुण्डो कोभिडले एउटै झट्कामा उछिट्याएर खोलिएको छ । जसबाट हामीले धेरै कुरा सिक्न या मनन गर्न आवश्यक छ ।

पुँजीवादमा कैयौँ अव्यवस्था, अपूर्णता र संकट बाँचिरहेका हुन्छन् भन्ने खुलस्त भएको छ । कोभिडले पुँजीवादको बाहिर देखिने भव्यता पनि भित्रभित्रै क्रमश मक्किँदै गएको छ भन्ने दुनियाँसामु विश्वास दिलाएको छ । कैयौँ विश्लेषक र बुद्धिजीवीहरूले जोडदार दावी गरिरहेका थिए र छन् कि पुँजीवाद तथा पुँजीवादी समृद्धि र सम्पन्नता नै आजको वास्तविक यथार्थ हो । यो अजम्बरी छ ।

पुँजी नै सम्पुर्ण कुराको साध्य हो । पुँजीले सबैथोक जित्न सकिन्छ । पुँजीवादी अर्थशास्त्री चैतन्य मिश्रको भाषामा ‘जिउँदोजाग्दो पुँजीवाद’ लाई स्वीकार गर्नुपर्छ । तर कोभिडले खोलिदियो पुँजीवाद आवरणमा समृद्ध देखिए पनि वास्तवमा त्यो सबैथोक होइन । यो पुँजीवादी समृद्धिले समाज र नागरिकहरूको संरक्षण र सुरक्षा दिने त कल्पना नै नगरौँ आफ्नै अस्तित्वलाई समेत थेग्न नसक्ने गरी अडेको हुन्छ ।

आज बाह्य दृष्टिले युरोप, अमेरिकालगायत संसारका पुँजीवाद समृद्धिका केन्द्र मानिन्छन् तर कोभिडले देखायो कि ती देशहरूमा नै नागरिकहरूले सबैभन्दा डरलाग्दो क्षति र समस्याहरू भोग्नु प¥यो । त्यहाँ पनि नागरिकहरूले पर्याप्त उपचार पाउन सकेनन् । औषधिको अभाव भयो । अस्पताल अपर्याप्त भए । करोडौँ नागरिकको रोजगारी समाप्त भयो । यी मुलुक आन्तरिक रुपले सारमा कमजोर सावित भए । बरु अर्थराजनीतिक दृष्टिले पुँजीवाद भन्दा फरक रहेका समाजवादी देशहरू या लोककल्याणकारी राज्यमा कोरोनाको प्रभाव कम देखियो । नोम चोम्स्कीको विश्लेषणमा क्युबा त स्वास्थ्य महाशक्तिकै रूपमा अगाडि आयो । यसरी हेर्दा पुँजीवादी विश्वमा देखिने समृद्धि प्लास्टिकको फूल सावित भएको छ । जुन हेर्दा वास्तविक फूलभन्दा सुन्दर देखिन्छ तर फूलमा पाइने मूल तत्व या बास्ना नै हुँदैन ।

आज कोभिडले आँखा खुलाइदियो । पैसा नै सबै थोक हो । पैसा भए पुग्छ भन्ने पुँजीवादी सोचाइ एवं मान्यता धुलोपिठो भएको छ । सामान्य अवस्थामा पैसा भएका देशहरू सबै क्षेत्रमा बलियो र सक्षम भएको विश्वास थियो । जोसँग उनीहरूसँग जति पैसा छैन उनीहरूलाई पछि परेको रूपमा हेरिन्थ्यो तर कोभिडले त्यो भ्रम मात्र हो भन्ने सावित गरिदियो । बरु के सावित भयो भने पैसा महत्वपूर्ण पक्ष भए पनि त्योभन्दा अर्को महत्वपूर्ण पक्ष भनेको राज्यको आर्थिक, सामाजिक, राजनीतिक चेतना तथा मान्यताहरू हुन् । पुँजीले धनाढ्य भनिएका देशहरूमा भन्दा शिक्षा, सामाजिक न्याय, वैज्ञानिक चेतना, अनुशासन, सद्भाव भएका देशहरूमा कोभिडको प्रभाव कमजोर देखियो । अर्को कुरा, आणविक एवं सैन्य सबलता नै समग्र सफलताको आधारस्तम्भ हुन सक्दैन भन्ने पनि सावित भयो ।

पुँजीवादी देशहरूले आफ्नो सबलताको अभिव्यक्ति प्राविधिक एवं सैन्य तागतद्वारा गरिरहेका छन् । उनीहरूले अन्य मुख्यतः समाजवादी तथा साम्यवादी अर्थराजनीतिक विचार र सिद्धान्तलाई बलका आधारमा गलत सावित गर्न प्रयत्न गरिरहेका छन् । तर कोरोनाले स्पष्ट गर्‍यो, मुख्य कुरा राज्यभित्र सामाजिक, स्वास्थ्य, शिक्षा, नागरिकका आवश्यकताहरूको सवलीकरण मुख्य कुरा हो जुन कुरा आणविक एवं सैन्य क्षेत्रमा मध्यम स्तरमा भएर पनि अमेरिका र युरोपको भन्दा राम्रो गरे ।
पुँजीवादी सम्पन्नताले मानव जातिलाई प्राकृतिक प्रकोपहरूबाट सुरक्षा दिन सक्दैन भन्ने वास्तविकता खुलस्त पारिदियो । पुँजीवादले केवल मुनाफा, धन आर्जन र बजार नियन्त्रणका लागि अनेकौँ अप्राकृतिक, दूषित, हानिकारक गतिविधिहरू अनियन्त्रित रूपले सञ्चालन गरिरहेको हुन्छ । त्यस्ता गतिविधिहरूले पृथ्वी र ब्रह्माण्डकै पर्यावरण, जल, जमिन, हावा, आकाश सारामा एकदमै नकारात्मक प्रभाव पारिरहेको छ । त्यसबाट अनेकौँ नयाँ र खतरनाक जीवाणुहरूको विकास हुने र सारा जीव सहित मानव जातिलाई विनाश गर्ने समस्या ल्याउने देखिन्छ । यसलाई वैज्ञानिकहरूले बारम्बार चेतावनी दिँदै आएका छन् । हकिङ्सले त नयाँ पृथ्वी खोज्नुपर्ने सम्मको सुझाव राखे । तर आज पनि ट्रम्प भन्दैछन्, ‘पुँजीवादले पर्यावरण बिग्रिन्छ भन्ने सोचाइ नै गलत छ। यो समाजवादीहरूले फैलाएको हल्ला मात्र हो ।’

अर्को पक्ष पुँजीवादभित्र मानवीय समवेदना र उत्तरदायित्व निकै कमजोर छ भन्ने खुलस्त भयो । कोभिड प्रकोप सुरु भएपछि स्पेनका वृद्धाश्रमहरूमा बिरामीहरूलाई त्यत्तिकै छोडेर हिँडेको समाचार आए । ब्रिटेनमा शव वाहनभित्रै लासहरू सडाएर राखेको, अमेरिकामा एउटै खाल्डोमा कयौँ लासहरू खत्याइएका विषयहरू छताछुल्ल भए । विरोध पश्चात् त्यहाँ जनताको आँखामा छारो हाल्न सरकारले जाँचबुझ समिति नै बनाउनु प¥यो । सारा सामाजिक सुरक्षाको सुनिश्चितता भएको प्रचार गर्ने पुँजीवादी मुलुकहरू भित्र यतिविधि असंस्कार, अमानवीयता एवं जनउपेक्षा प्रकट हुनु भनेको पुँजीवादी संस्कारको प्रतिबिम्ब हो । त्यहाँ पैसा र स्थिति सहज छ भने सामाजिक सुरक्षा र सहुलियतको माहौल छ तर ती छैनन् भने केही छैनन् । पुँजीवादी राज्यहरूले जसरी निजी स्वतन्त्रता र सम्पन्नताको हवाला दिन्छन् । तर अन्तर्यमा ती सहज समयमा मुनाफा कुम्ल्याउनका लागि मात्र उपयोगी हुन्छन् । समाजले नै संकट झेल्नुपर्दा वा पुँजीका मालिकहरूले समाजका लागि विशेष योेगदान गर्नुपर्ने अवस्थामा निजी समृद्धिको क्षेत्र समाज र नागरिकहरूप्रति पूरै अनुत्तरदायी तथा गैरजिम्मेवार बन्न पुग्छ । त्यसकारण निजी समृद्धि समाधान होइन रहेछ भन्ने कुरो बुझ्न जरुरी छ ।

सामाजिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका मुख्य हुन्छ र हुनुपर्छ भन्ने तर्क छाँट्ने मान्छेहरू यतिबेला लाचार देखिएका छन् । उनीहरूको निजीप्रधान सोचाइ मुनाफा कुम्ल्याउने धूत्र्याइँमा परिणत भएको छ । स्थिति कस्तो डरलाग्दो देखिन्छ भने निजी क्षेत्रले करोडौँ नागरिकहरूलाई रातारात बेरोजगार बनाएर अभाव, गरिबी, भोकमरी र आत्महत्याको अनिश्चित कालो सुरुङतिर हुल्दैछ । नाफाका लागि भर्ती गरिएका श्रमिकहरूलाई आफ्नो नाफा कम हुने देखिँदासाथ एकरत्ति सुरक्षाभाव नराखेर सडकमा फ्याकिदिन्छ । पुँजीका मालिकहरू उल्टै राज्यबाट अर्बौंअर्बको क्षतिपूर्ति र सहुलियतको माग गरिरहेका हुन्छन् । युरोप, अमेरिकालगायत देशमा राज्यले पुँजी मालिकहरूको क्षतिपूर्ति गर्न खर्बौं डलरको बाढी बगाउनु परेको छ । संकटमा राज्यको पुँजी लिएर बाँच्नुपर्ने त्यस्तो नवउदारवादी अर्थप्रणाली र समृद्धिको महिमागान स्वयं पुँजीवादले गरेको छ । अझै पुँजीवादीहरुले यसलाई विश्वको नमुना अर्थसम्बन्ध भनेर जप्ने गर्छन् । हाम्रो जस्तो उत्पादन करिब(करिब शुन्य भएको देश, लक्का जवान युवाहरु विदेश गएर रगत र पसिनासँग पैसा साटेर त्यहीँ पैसा बेचेर पैसा कमाउने देश, पूरा परनिर्भर दलाल पुँजीवादी अर्थसम्बन्धलाई तिनै पुँजीवादी तथा साम्राज्यवादीको आड भरोसा र योजनामा समृद्धिको सपना बुनेका छौं । यसले झन्झन् समस्याको खाडल झन् पछि झन्झन् गहिरो बन्दैछ । त्यसैले स्पष्ट छ, पुँजीवाद सामाजिक उन्नति एवं नागरिक समृद्धिका लागि हुँदै होइन । यो त निजी सम्पन्नताका लागि राज्यको सम्पुर्ण पुँजी मुठ्ठीभर शोषक वर्गको कब्जामा राख्नु नै पुँजीवादको मुल उदेश्य हो ।

समग्रमा भन्दा कोरोनाले सारा मानव जातिलाई सताउँदा संयोगले मानवसभ्यताको टाउकोमा विराजमान बन्न पुगेको पुँजीवाद र निजी स्वामित्वमा आधारित पुँजीवादी अर्थसम्बन्धको असफलता, अक्षमता र संकटलाई ह्वाङ्ग खोलिदिएको छ । उसका सारा रूपरङ, बनावट, अवस्थालाई छ्याङ्छ्याङ्ती नाङ्गै बनाएर देखाइ दिएको छ । यसबारे विश्वमा बहस भइरहेको छ । कम्युनिस्ट शक्ति मात्र होइन, विश्वका अन्य बुद्धिजीवीहरू पनि पुँजीवादको औचित्यहीनता तथा असफलताबारे एकमत देखिदै गएका छन् । यो खुसीको कुरा हो । तर पुँजीवादी नेताहरूले भने आफ्नो असफलता र संकट टाल्न यतिबेला दुईवटा गलत विषय अगाडि सारेका छन् ।

प्रथम, विश्व पुँजीवादी तथा साम्राज्यवादीले विश्वभर तनाव सृजना गर्ने, अस्थिरता उत्पन्न गर्ने, आतंक मच्चाउने र हिंसात्मक युद्ध भड्काउने खेल खेल्दैछन् । जतिबेला कोभिडले चीनलाई बढी क्षति गरिरहेको थियो, त्यसबेला पुँजीवादी नेता र लेखकहरूले भने, ‘चीनमा क्षति हुनुको मुख्य कारण रोगभन्दा पनि चीनको कम्युनिस्ट शासन, केन्द्रीकृत सत्ता, सर्वसत्तावादी शैली, अप्रजातान्त्रिक शासन, अनुत्तरदायी नेतृत्व जिम्मेवार रहेको छ । एकजनाले त अमेरिकामा जस्तो लोकतन्त्र भएमा केही समस्या नहुने भन्दै चीनमा सत्ता बदल्नुपर्ने समय आएको समेत चर्चा गरे । तर जब कोरोनाले चीनलाईभन्दा धेरै बढी क्षति अमेरिका र युरोपमा ग¥यो तब तिनै मान्छेहरूले फेरि यस्तो तर्क गरे, ‘चीनले समयमै ठीक तरिकाले सूचना नदिएको र रोक्ने उपाय नबताएकाले अमेरिकालगायत देशहरूले बढी क्षति भोग्नुपर्यो । चीनले क्षतिपूर्ति तिर्नुपर्ने, क्युबाले अन्तर्राष्ट्रिय आतंकवादसँगको लडाइँमा साथ नदिएको जस्ता आरोप लगाउँदै नकाबन्दीको धम्की समेत दिए । अमेरिकी साम्राज्यवादले त डब्लूएचओसँग समेत विवादास्पद व्यवहार ग¥यो । अनेकौं आरोप लगायो । दिइरहेको सहयोग समेत रोक्ने धम्की समेत दियो । कताबाट हुन्छ कोरानाको क्षतिलाई युद्ध र आतंकद्वारा पूर्ति गर्ने र आफ्नो असफलतालाई छोप्ने ध्याउन्नमा विश्व पुँजीवादीहरु लागिपरेका छन् ।’

द्वितीय, पुँजीवादीहरुलाई नाफा कमाउनु र पैसा जोगाउनु मुख्य हो, मानव रोग, भोक र मृत्यु सामान्य हो भन्ने लुटवादी, अमानवीय तथा असामाजिक चरित्र प्रदर्शन गर्दैछन् । सुरुमा विकास र समृद्धिको अहंकारमा डुबेका पुँजीवादीहरूले कोरोना आफ्नो मुलुकमा पस्नै सक्दैन भन्ने जस्तो रबैया प्रदर्शन गरे । जब कोरोना रोक्नमा पूरै असफल जस्तो बन्न पुगे, पुँजीवादी अव्यवस्थाका कारण लाखौँ नागरिकहरूले ज्यान गुमाउनु प¥यो र खर्बौं डलरको खोलो बगाउँदा पनि नपुग्ने भयो तब पुँजीवादी नाइकेहरूले अति विचित्र, असभ्य र अमानवीय तर्क गर्न पुगेका छ्न् । उनीहरुका अनुसार मानवीय क्षतिभन्दा ठूलो चुनौती आर्थिक क्षति हो । त्यसबाट बच्नका लागि बजार खुला गर्न, व्यापार चलाउन र व्यवसायहरू सञ्चालन गर्न आवश्यक छ । यो कुरा ट्रम्पले मात्र होइन, जोनसोन, सुनारो, म्याक्रो सबैले एउटै स्वरमा भन्न पुगेका छन् । यस्ता तर्कको स्पष्ट सन्देश कोरोनाको संकट केवल स्वास्थ्यमा मात्र सीमित नभएर सिङ्गो राज्यव्यवस्थाको संकटमा समेत परिणत हुन सक्छ । यस्तो विकसित बस्तुस्थितिमा जुनकुनै बेला पनि अर्को अक्टोबर क्रान्ति विस्फोट हुन सक्छ भन्ने देखिन्छ । पुँजीवादीहरूको अर्थराजनीतिक गणितमा नागरिक र समाजको जीवनभन्दा पुँजी र मुनाफा नै प्रधान हो । उनीहरुले मान्छे मरेर फरक पर्दैन, ती फेरि जन्माउन सकिन्छ तर पैसा गुम्यो भने सत्ता नै गुम्न सक्छ भन्ने निष्कर्ष निकालेका छन् ।

मानव समाजको विकासले असफल सिद्ध गरेको तर बलजफ्ती अस्तित्व रक्षामा उत्रिने पुँजीवादी अर्थराजनीतिक व्यवस्थाका कारण मानव जातिले इतिहासदेखि अपूरणीय मूल्य चुकाउनु परेको छ । पोप, मुल्लाह, पुजारीहरूको शासनलाई झूट साबित गर्न बु्रनोहरूले ज्यान गुमाउनु पर्‍यो। कोपर्निकस, ग्यालिलियोहरूले सास्ती बेहोर्नु प¥यो । आज प्रोफेसर हरारेले भनेजस्तै विज्ञानमा विश्वास गर्ने क्रम बढेको छ । कोभिडको कारण चर्च, मस्जिद, गुम्बा, मन्दिर बन्द गर्न बाध्य भएका छन् । प्रभु, अल्लाह, भगवान र इश्वरले आफ्ना भक्तजनको भिडमा भाइरस संक्रमण रोकेर आफ्नै भक्तजनको सुरक्षा गर्न सकेनन् । खोइ कहाँ छन् ? इश्वर, प्रभु, अल्लाह, भगवान छन् भने के हेरेर बसेका छन् । अर्को शब्दमा आज मानव जातिले विज्ञानको अभूतपूर्व आवश्यकताको अनुभुती गर्न पाएको छ । तर पुँजीवादबाट समाजले त्यही पीडादायी तर बहन गर्नैपर्ने व्यवहार भोग्नु परिरहेको छ । व्यवहारतः पुँजीवाद बेकम्मा र औचित्यहीन बनिसकेको छ तर उसको मूर्खतापूर्ण अडानले अनेकौँ झमेलाहरू सामना गर्नु परिरहेको छ । हुनसक्छ कैयौँ विज्ञान र परिवर्तनका अभियन्ताहरूले यसको अझै ठूलो मूल्य चुकाउनु पर्नेछ । यद्यपि यो निश्चित छ, ‘विश्व पुँजीवाद तथा साम्राज्यवादले विश्वमा र सामन्ती तथा दलाल पुँजीवादले नेपालमा त्यसरी नै नौलो जनवाद, वैज्ञानिक समाजवाद तथा साम्यवादका लागि ठाउँ छोड्नु पर्नेछ, जसरी पोप र सम्राटको शासनले पुँजीपतिका लागि राज्य सञ्चालनको मञ्च त्याग्नुपरेको थियो ।’