राष्ट्रियसभामा मनोनित हुँदै नेकपा उपाध्यक्ष वामदेव गौतम
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई सरकारले राष्ट्रियसभामा रिक्त रहेको पदमा मनोनयन गर्ने भएको छ ।
बालुवाटारमा बिहीबार दिउँसो बसेको नेकपा सचिवालय बैठकमा उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको रिक्त एक पदमा मनोनयन गर्ने निष्कर्षमा सरकार पुगेको प्रधानमन्त्री केपी ओलीले जानकारी गराएका थिए ।
भदौ २० भित्र राष्ट्रियसभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार सरकारले गौतमको नाम सिफारिस गर्ने भएको हो। संविधानको धारा ७८ को उपधारा १ बमोजिम गैरसांसद भएर पनि युवराज खतिवडा मन्त्री बनेका थिए। संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो। सोही समयदेखि उक्त पद खाली थियो।
भदौ २० गतेपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने थियो। तर सरकारको यो निर्णयले खतिवडा पुनः अर्थमन्त्री बन्ने बाटो तत्कालका लागि बन्द भएको छ।
ओली युवराजलाई निरन्तरता दिने पक्षमा भए पनि अर्का अध्यक्ष प्रचण्डलगायत पार्टीका वरिष्ठ नेताहरू त्यसमा सहमत नभएको नेकपा स्रोत बताउँछ । यसवाहेक अर्थमन्त्री खतिवडाको भूमिकाप्रति पार्टीभित्रै असन्तुष्टि रहँदैआएको थियो । र अर्थमन्त्री परिवर्तन गर्नुपर्ने माग पनि पार्टीभित्र उठ्दैआएको थियो ।
यसअघि फागुन १४ गते नेकपा सचिवालयले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन मन्त्रीपरिषदमार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। तर निर्णय कार्यान्वयन नहुँदा नेकपामा विवाद उत्पन्न भएको थियो।









परिवर्तन संवाददाता
१८ भाद्र २०७७, बिहीबार २२:३८