Loading... आजः २०८२ माघ ७, मंगलवार

गुराँस गाउँपालिकाद्वारा राउटे प्रतिनिधित्वसम्बन्धी प्रस्ताव पारित

कृष्ण शर्मा ,सुर्खेत  – दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई स्थानीय शासन प्रणालीमा प्रत्यक्ष प्रतिनिधित्व गराउने प्रस्ताव पारित गरेको छ। गुराँस गाउँ सभाको १७ औँ हिउँदे अधिवेशनमा गाउँपालिका सरकारका प्रवक्ता तथा वडा नम्बर ८ का अध्यक्ष दीपेन्द्रबहादुर ओलीले पेस गर्नुभएको सार्वजनिक महत्त्वको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो।

प्रस्ताव अनुसार राउटे समुदायका लागि गुराँस गाउँपालिका–९ नामक गैर–भौगोलिक विशेष वडा गठन गरिनेछ। उक्त वडामा राउटे समुदायका तीन जना वडा सदस्य र एक वडाध्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ, साथै पहिलो पटक महिला सदस्य चयन गरिने उल्लेख छ।

प्रस्तावमा राउटे समुदायलाई नागरिकता, मताधिकार, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवामा पहुँच सुनिश्चित गर्दै उनीहरूको संस्कार, संस्कृति र परम्परागत जीवनशैली संरक्षण गर्ने लक्ष्य राखिएको छ।

गुराँस गाउँ सभाबाट पारित प्रस्ताव प्रदेश सरकार हुँदै सङ्घीय सरकारमा सिफारिस गरिने जनाइएको छ।