प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

सुर्खेत ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरिएको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आचारसंहिता स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
निर्वाचन आयोगबाट अर्को सूचना प्रकाशित नभएसम्म विभिन्न सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल, उम्मेदवार र सम्बन्धित व्यक्तिहरूलाई आचारसंहिता लागू हुने आयोगले स्पष्ट पारेको छ।
आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार तथा तिनका मन्त्री, संवैधानिक निकाय र तिनका पदाधिकारी, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारी र सुरक्षाकर्मीलाई लागू हुनेछ।
त्यसैगरी राजनीतिक दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ताहरू पनि आचारसंहिताको दायरामा पर्नेछन्।
सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, विद्यालय, कलेज, विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, विकास साझेदार संस्था, परियोजना कार्यालय, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा मतदातासमेत आचारसंहिताको पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।







परिवर्तन संवाददाता
६ माघ २०८२, सोमबार ०७:५७