Loading... आजः २०८२ माघ ८, बुधबार

ग्यास सिलिन्डर विस्फोटमा परि नौ नेपालीको मृत्यु

 

भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की बजारमा भएको आगलागी र त्यसपछि भएको ग्यास सिलिन्डर विस्फोटमा नौ जना नेपालीको मृत्यु भएको छ।

सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा घर भएका धनबहादुर विक र काशीराम विकका परिवारका सदस्यहरूको आइतबार मध्यराति ज्यान गएको हो।

मध्यरातमा स्थानीय राजीव गुप्ताको घरको भुइँतलामा रहेको पसलमा आगलागी भएको थियो। सो पसलमा ग्यास सिलिन्डरलगायतका सामग्री राखिएको थियो। आगो फैलिएसँगै सिलिन्डर विस्फोट हुँदा माथिल्लो तलामा सुतिरहेका विक परिवारको ज्यान गएको नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिएका छन्।

दुर्घटनामा ३३ वर्षीय धनबहादुर विक, उनकी श्रीमती कविता, छोरीहरू राधा र रेनुका तथा २२ महिने छोरा राजनको मृत्यु भएको छ। यस्तै ४७ वर्षीय काशीराम विक, उनकी श्रीमती टीका, छोरी अनु र छोरा किरणको पनि मृत्यु भएको छ। विस्फोट अत्यन्त शक्तिशाली भएकाले शवहरू चिन्नसमेत कठिन अवस्थामा पुगेको घटनाका प्रत्यक्षदर्शीहरूले बताएका छन्।

आगलागीका बेला नजिकैको घरमा सुतिरहेका केही नेपालीहरू भने भागेर ज्यान जोगाउन सफल भएका थिए। आगो फैलँदै जाँदा विक परिवार सुत्ने कोठातर्फ जाने सिँढीमै आगो दन्किएको थियो। आगो निभाउने प्रयास भइरहेकै बेला एकपछि अर्को गर्दै करिब १०–१२ वटा सिलिन्डर विस्फोट भएको स्थानीयको भनाइ छ। विस्फोटपछि भित्र रहेका परिवारका सदस्यहरूको आवाज एकाएक बन्द भएको थियो।

आगो अत्यन्त ठूलो भएकाले स्थानीय बासिन्दाले निभाउन सकेनन्। बिहान करिब ६ बजेतिर मात्र दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। त्यसपछि घटनास्थलमा जलेका र टुक्राटुक्रा अवस्थामा शवहरू फेला परेका थिए।

धनबहादुर, काशीराम र उनका परिवारका सदस्यहरू रोजगारीका लागि करिब साढे दुई वर्षअघि हिमाचल प्रदेश पुगेका थिए। उनीहरू त्यहाँ ज्याला मजदुरी गर्दै आएका थिए। आइतबार पनि उनीहरूले अर्की बजारदेखि करिब सय मिटरको दूरीमा काम गरेका थिए।

परदेशमा मजदुरी गर्न गएका बेला बालबालिकासहित नौ जनाको मृत्यु भएको घटनाले सिद्धकुमाख–२ टाकुराका बासिन्दा शोकमा डुबेका छन्। स्थानीयका अनुसार जिल्लामै पर्याप्त रोजगारीको व्यवस्था नहुँदा उनीहरू जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य भएका थिए।

घटनाप्रति शोक व्यक्त गर्दै सिद्धकुमाख गाउँपालिकाले मंगलबार शोक बिदा दिएको छ। वडाध्यक्ष मेघबहादुर बुढाथोकीका अनुसार शव संकलनको काम जारी रहेकाले भारतमै दाहसंस्कार गर्ने वा नेपाल ल्याएर गर्ने विषयमा छलफल भइरहेको छ। साथै मृतक परिवारका नजिकका आफन्तलाई स्थानीय सरकारले क्षतिपूर्ति दिने वा नदिने विषयमा पनि छलफल भइरहेको छ।