सफल कप्तान’ जसले अन्तर्राष्ट्रिय खेल जीवन टुङ्ग्याउने घोषणा

काठमाण्डौ – राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट मङ्गलबार सन्न्यासको घोषणा गरेका छन् ।
संयोग यो मिलेको छ, नेपालले पहिलो एकदिवसीय खेलमा नेदरल्यान्ड्सविरुद्ध प्राप्त गरेको सफलताको दिनमा खड्काले अन्तर्राष्ट्रिय करिअरबाट बिदा लिने निर्णय लिएका छन् । सामाजिक सञ्जालमार्फत खड्काले नेपालका लागि क्रिकेट खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट बिट मारेका हुन् ।
डेढ दशकभन्दा बढी समय क्रिकेटसँग साइनो गाँसेका नेपाली क्रिकेटर पारस खड्काले मङ्गलवार समाजिक सञ्जालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरेका हुन् । उनको कप्तानीको समयमा नेपाली क्रिकेटले धेरै सफलताका पाइला भेटाउँदै जाँदा २०१४ मा पहिलो पटक ट्वान्टी–२० विश्व कप पनि खेल्ने मौका पायो । त्यो समय खड्काले नै नेपाली टोलीको कप्तानी सम्हालेका थिए । २०१८ मा जिम्बाब्वेमा भएको विश्व कप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता नेपालले पाएको थियो । त्यो समय पनि उनकै नेतृत्वमा नेपाली टोलीलाई एक दिवसीयको मान्यता हात लागेको थियो ।
उनै ’सफल कप्तान’ र खेलाडीमध्ये एक खड्काले मङ्गलवार अन्तर्राष्ट्रिय खेल करिअरबाट बिदाइ मागेका हुन् ।नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट सङ्घ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट निलम्बन हुँदा अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारी वहन गर्दै खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाएका थिए ।सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका अलराउन्डर पारसले सन् २००९ मा नेपाली टोली सम्हाल्ने जिम्मा पाएका थिए । उनले विनोद दासको कप्तानको आर्मब्यान्ड पहिरिएका थिए । उमेर समूहका खेलबाट राष्ट्रिय टोलीसम्म ठाउँ बनाएका खड्काले बङ्गलादेशमा सन् २००४ मा भएको आईसीसी यु–१९ विश्व कप क्रिकेट खेलेका थिए । त्यही वर्ष मलेसियाविरुद्धको खेलमा आईसीसी इन्टरकन्टिनेन्टल कपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका खड्काले झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेर २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए ।
त्यसपछि नेपाली टोलीलाई ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका छन् ।विश्व वरीयतामा नेपाल अहिले १२ औँ स्थानमा छ । नेपालले एकदिवसीय मान्यता पाएको छ । नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा ल्याउनका लागि कप्तानको जिम्मेवारी सम्हालेका खड्का सर्वाधिक सफल खेलाडी पनि हुन् । किन भने एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय दुवैमा नेपालका लागि शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् खड्का । सन् २०१९ मा यूएईविरुद्धको खेलमा पारसले करिअरको पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए । त्यही वर्ष सिङ्गापुरविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्दै पहिलो नेपाली खेलाडी बनेका थिए ।पारसले नेपाली टोलीबाट १० अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेका छन् । खड्काले १० खेलबाट तीन सय १५ रन जोडेका छन । त्यस्तै ट्वान्टी–२० मा ५६ खेल खेल्दा एक हजार तीन सय ७७ रन बनाएका छन् ।










परिवर्तन संवाददाता
२० श्रावण २०७८, बुधबार १४:४३