Loading... आजः २०८३ जेष्ठ २३, शनिबार

बेलायतमा शक्तिशाली आँधीका कारण जनजीवन अस्तव्यस्त, तीनको मृत्यु

बेलायतमा शुक्रबार आएको  तीन दशकयताकै ‘यूनिस’  नामको शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित बनेको छ ।  आँधीका कारण तीन जनाको ज्यान गएको बीबीसीले जनाएको छ । मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन् ।

१ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र नराम्रोसँग प्रभावित भएका छन् । आँधीका कारण सयौँको सङ्ख्यामा उडानहरू तथा रेल सेवाहरू रद्द भएका छन् ।

पूर्वी लण्डनमा रहेको विश्वप्रशिद्ध ओटु एरीना भवनको छाना हावाले क्षतविक्षत बनाएको थियो । मिलिनियम डोमको रूपमा रहेको उक्त भवन सन् २००० खोलिएको थियो । सन् २००७ मा ‘ओटु’ नामकरण गरिएको सो भवनमा ठूला ठूला कन्सर्ट तथा स्पोर्टस इभेन्टको आयोजना हुने गरेको थियो । त्यहाँ सिनेमा लगायत अन्य थुप्रै पसल तथा रेष्टुरेन्टहरु सञ्चालन हुँदै आएका छन् । उक्त भवनका आर्किटेक्ट रिचार्ड रोजरको गत डिसेम्बरमा निधन भएको थियो ।