Loading... आजः २०८१ बैशाख ७, शुक्रबार

बाँकेमा ३ दिनका लागि निषेधाज्ञा

नेपालगन्ज । कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आइतबारदेखि ३ दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

नेपालगन्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकैदिन ३० जनामा संक्रमण देखिएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले ३ दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ । प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यक रूपमा हिँडडुल गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने छ ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति (पास) भएका गाडी मात्र सञ्चालनमा आउन पाउने छन् ।

बाँकेमा हालसम्म कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४ सय ३७ पुगेको छ ।