Loading... आजः २०८३ असार १३, शनिबार

लागू औषधमुक्त समाजका लागि दैलेखमा ऐक्यबद्धताः प्रभातफेरी र सचेतना कार्यक्रम सम्पन्न

दैलेख — लागू औषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार दैलेखमा प्रभातफेरी, सचेतनामूलक कार्यक्रम तथा दीप प्रज्ज्वलन सम्पन्न भएकाे छ । जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजना तथा नारायण नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेख, सामाजिक विकास कार्यालय, जिल्ला प्रहरी कार्यालय र सोसेक नेपालको समन्वय तथा सहजीकरणमा यो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममार्फत दुर्व्यसन र ओसारपसारविरुद्ध जनचेतना जगाउँदै यसको रोकथाममा सबै क्षेत्रको साझा भूमिका हुनुपर्ने सन्देश दिइएको छ।

दिवसका अवसरमा सदरमुकामबाट निकालिएको प्रभातफेरीले बजार क्षेत्र परिक्रमा गरेपछि जिल्ला समन्वय समिति दैलेखको सभाहलमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थी, यातायात व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सचेतनामूलक कार्यक्रममा दैलेख अस्पतालका इन्चार्ज डा। मनोज विश्वकर्माले लागू औषध दुर्व्यसनले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा दीर्घकालीन असर पार्ने उल्लेख गरे। दुर्व्यसनका कारण युवापुस्ताको अध्ययन, पारिवारिक सम्बन्ध, आर्थिक अवस्था र भविष्यसमेत जोखिममा पर्ने भन्दै उनले विद्यालय, परिवार र समुदायको संयुक्त प्रयासबाट मात्र यसको रोकथाम सम्भव हुने बताए। समयमै सचेतना फैलाउनु नै दुर्व्यसन नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको उनको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजकुमार थापाले लागू औषध सेवन, कारोबार तथा ओसारपसार कानुनले दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको जानकारी दिए। लागू औषध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै अभिभावक, विद्यालय, स्थानीय तह, नागरिक समाज र समुदायको सक्रिय सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिबारे जानकारी पाए तत्काल प्रहरीलाई सूचना दिन आग्रह गरे।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही, प्रमुख जिल्ला अधिकारी आनन्द सारु र जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार विश्वकर्मा लगायतले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौतीका रूपमा रहेको औँल्याए। यसको रोकथामका लागि सचेतना, समन्वय र कानुनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको भन्दै उनीहरूले लागू औषधमुक्त समाज निर्माणका लागि हरेक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए।

संयुक्त राष्ट्रसङ्घको निर्णयअनुसार लागू औषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्ध विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् १९८७ देखि हरेक वर्ष जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ। सोही अवसरमा दैलेखमा प्रभातफेरी, बृहत् सचेतनामूलक कार्यक्रम तथा साँझ दीप प्रज्ज्वलन गरी दिवस मनाइएको आयोजकले जनाएको छ।