Loading... आजः २०७८ श्रावण १०, आईतवार

जागिर रहर कि बाध्यता ?

ति नै सुकै सभ्य र आधुनिकतातर्फ उन्मुख समाज भए पनि जबसम्म मानिसको सोच परिवर्तन हुँदैन तबसम्म सायद धेरै नारीहरू होलान् रहर भन्दा पनि बाध्यताको सिकार भएका।

मानिसको सबैको आ-आफ्नो सपना हुन्छ मेरो पनि सरकारी जागिर एउटा सपना थियो। माहोल, पारिवारिक वातावरण त्यही भएर होला मलाई सानैदेखि यसमा रस थियो।

स्नातकोत्तरको अध्ययनपश्चात मैले लोकसेवाको पहिलो पटक अधिकृतको जाँच दिएँ, म सफल भइनँ। सायद पढाइ नपुगेर या कच्चापन मेरो नाम निक्लेन। त्यसपछि नानी भइन्। २।३ वर्षसम्म पढ्न समय भएन। नानी बिरामी भइराख्थिन्। श्रीमान-श्रीमतीको बसाइ। हेर्दिने कोही थिएन। श्रीमान सधैं व्यस्त। दु:ख सुख नानी हुर्कंदै थिइन्।

मेरो मनले पनि यही नानी हुर्काउँछु , पछि ठूली भएपछि भेटियो भने कुनै काम गर्छु नत्र गर्दिनँ भनेर चित्त बुझाइसकेको थियो।
लोकसेवा पढाइ सुरू गर्न समय अभाव थियो। ता पनि कहिलेकाहीँ ती पुस्तकहरू पल्टाउन मन लाग्दथ्यो। किन किन आनन्दको महसुस हुन्थ्यो ती पुस्तकहरू पल्टाएका दिन।

मानिसहरूसँग विवाह, पार्टी , दसैंजस्ता पर्वमा भेट हुँदा के गर्दैछौ ? के गर्छौ काम ? अनि दिउँसोभरिको समय कसरी काट्छौ ? यिनै प्रश्नको जमात हुन्थ्यो। लाग्थ्यो कि उनीहरूको मजाक भइराखिएको थियो।

आफू केही गर्न नसकेको भनेर के भन्नूँ उनीहरूलाई? के गर्छु भन्नूँ ? कुनै उपलब्धिमूलक काम थिएन। गर्दिनँ भनुम् भने बिहान उठेदेखि राति नसुतेसम्म फुर्सद हुँदैनथियो।

नानी बिरामी, हेर्दिने मान्छे कोही थिएन। पढाइ घर व्यवहार यी सबमा नारीको कस्तो समय रहन्छ भन्ने कुरा जसले भोग्यो त्यसैलाई मात्र थाहा हुन्छ। प्राइभेट जागिरको प्रस्ताव त आयो तर कसरी गर्नू? नानी कसले हेरिदिने ? यही प्रश्न अगाडि तेर्सिन्थ्यो। अनि मौन हुन्थें म। पक्कै पनि श्रीमान-श्रीमती दुबै कामकाजी हुँदा आर्थिक रूपमा बोझ कम हुन्छ। तर कतिपय अवस्थामा छोराछोरीको लालनपालन पारिवारिक स्वास्थ्य स्थितिले गर्दा पनि यी सबबाट टाढा हुनुपर्ने स्थिति आउँछ।

यो परिस्थितिमा जागिर रहरभन्दा मानिसको लागि खाइदिन पाए हुन्थ्यो भन्ने बाध्यता भइसकेको थियो।

श्रीमान अत्यन्तै सकारात्मक धारणाको हुनुहुन्थ्यो उहाँले सधैं मेरो काम मूल्याङ्कन गर्नुहुन्थ्यो तर उहाँको मूल्याङ्कनले मात्र के हुन्थ्यो र!  समाज, आफन्त यी सब अगाडि आउँदथ्यो।

यी बीचमा मैले लोकसेवाको जाँच दिन थालें। मेरो नाम निक्लिएको थिएन।

आफन्त, साथीभाइ, समाज सबै कति पटक भो दिएको भन्ने प्रश्न हुन थालिसकेको थियो। कसैको मनमा कति घण्टा पढ्न पाई, नानी हेर्दिने को छ र, कसरी व्यवस्थापन गरेर पढ्दै होली भन्ने सहानुभूति चाहिँ थिएन। दसैंमा टीका लगाउँदा पनि यही हुन्थ्यो कि ‘नाम निकाल्न नि सकेनौ’।

त्यही भएर मलाई मेरो नाम ननिक्लुन्जेल चाडपर्व नआइदिए हुन्थ्यो जस्तो लाग्दथ्यो। तर समयको वेग आफ्नो हातमा कहाँ हुन्छ र! साथीभाइको जस्तो दिनहुँ ट्युसन सेन्टर गएर पढ्न पाउनु मेरो लागि त सपना थियो।

रहरबाट सुरू भएको यात्रामा बाध्यताले बढी जरो गाडेपछि जागिर एक बाध्यता बन्दोरैछ।

२१ ‌औं शताब्दीको उन्नत विकसित समाज भने पनि यसले त आधुनिकताको खोल ‌ओढेको पो रैछ।

जबसम्म घरको काम गरेर बसेका नारीहरूलाई सम्मानजनक दृष्टिकोणले हेर्न सकिँदैन, राज्यले र परिवारले श्रमको मूल्याङ्कन गर्दैन तबसम्म महिलाको भूमिका गौण सावित हुन्छ, उसको आत्मसम्मानमा चोट पुग्छ।

वास्तवमा परिवार व्यवस्थापन पनि एक महत्वपूर्ण कार्य हो भन्ने महसुस नगराइन्जेलसम्म महिलाहरूले घरभित्र “बेकामे” जिन्दगी बिताएका बुझ्ने पुरूष अनि समाजबाट नारी सदा प्रताडित  हुनुपर्छ।

अनि कतिपय अवस्थामा जागिर रहरबाट सुरू भएर बाध्यतामा अन्त्य हुन पुग्छ! (सेताेपाटी बाट)