Loading... आजः २०८१ बैशाख २०, बिहीबार

स्थानीय तहको निर्वाचनका लागि माओवादीको अपिल

 

काठमाडौँ – पाँच दलीय गठबन्धनमा रहेको माओवादी केन्द्रले ‘समाजवाद उन्मुख समृद्धिः आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि’ लाई स्थानीय तह निर्वाचनको प्राथामिक एजेन्डा बनाउने भएको छ । माओवादी केन्द्रले स्थानीय निर्वाचनबारे अपील जारी गर्दै समाजवाद उन्मुख समृद्धिको लागि माओवादीको नेतृत्व अनिवार्य भएको पनि दाबी गरेको छ ।

‘जनक्रान्तिका उपलब्धिहरुको रक्षा र सामाजिक न्याययसहित आर्थिक सामाजिक रुपान्तरण नै समाजवादउन्मुख समृद्धिको सार हो । सामाजिक न्यायसहितको आर्थिक विकास र राष्ट्रिय स्वाधीनताको थप सुदृढीकरण समाजवादउन्मुख समृद्धिका दुई मुख्य पिलर हुन्’, माओवादीको अपिलमा छ, ‘समाजवादको परम्परागत मोडेलप्रति उदासिन र बजारका एकाधिकारबाट पीडित हुँदै निराश र निमुखा बन्दै गएका जनसमुदायको विशाल हिस्सालाई आर्थिक सामाजिक विकासको साझेदार बनाउने र उनीहरुलाई प्रतिफलको हिस्सेदार समेत बनाउने माओवादी केन्द्रको विकास मोडेलबाट नै समाजवादउन्मुख समृद्धि सम्भव हुँदै जानेछ । स्वाधीन र सार्वभौम राष्ट्रले मात्र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सक्दछ भन्ने कुरामा समेत हामी स्पष्ट हुनै पर्दछ ।’

माओवादीले संविधानमा रहेको मौलिक हक कार्यन्वयन गर्न सबै तहमा माओवादी केन्द्रको नेतृत्व चाहिने अपिलमा दाबी छ । ‘आधारभूत स्वास्थ्य सेवा र विद्यालय शिक्षा निःशुल्क प्रदान, खाद्य सुरक्षा, आवास, रोजगारी, स्वच्छ वातावरण, जातीय, क्षेत्रीय एवं लैंगिक समानतालगायतका मौलिक हक कार्यान्वयन पनि समाजवादउन्मुख समृद्धिको अभियानसँगै पूर्णरुपले कार्यान्वयन हुँदै जानेछन्’, अपिलमा छ, ‘जनक्रान्तिको रक्षा,राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र सामाजिक न्यायसहितको आर्थिक विकासका लागि माओवादी केन्द्रको नेतृत्व वर्तमानको अपरिहार्यता हुन गइरहेको छ ।’