Loading... आजः २०७८ श्रावण १२, मंगलवार

राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकुल काम भयो– महान्यायाधिवक्ता खाती

प्रधानमन्त्रीलाई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानूनी सल्लाह दिन सक्ने

 

नवनियुक्त महान्यायाधिवक्ता खम्म बहादुर खातीले राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकुल हुने गरी गराउने शपथ ग्रहणको कार्य नमिलेको बताएका छन्।

पदभार ग्रहणपछि महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकुल हुने काम राष्ट्रपतिले गरेको आरोप लगाए। ‘शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो’ उनले भने,‘नेपाल सरकारको कानूनी सल्लाहकारको रुपमा राष्ट्रपति ज्यू समक्ष सम्माननीय प्रधानन्यायाधीशले शपथ ग्रहण गराउनुपर्छ तर राष्ट्रपति कार्यालयले त्यसो गरेन।’

जसले शपथ गराउँछ त्यसले म्यानेज गराउँँछ भन्ने दृष्टिकोणले शपथ  गराइएको महान्यायाधिवक्ता खातीले बताए। खातीले आफूमाथि ठूला चुनौतिसँगै अवसर पनि रहेकोले जतिसक्दो छिटो सेवाग्राहीका समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिवद्धता पनि जनाए।

महान्यायाधिवक्ताले प्रधानमन्त्रीलाई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानूनी सल्लाह दिन सक्ने बताउँदै उनले कस्तो किसिमको कानून बनाउँदा राज्यलाई सहज हुन्छ र सरल रुपमा जनताले त्यसलाई उपयोग गर्न पाउँछन् भन्ने विषयमा काम गर्ने उनले प्रतिवद्धतासमेत जनाए।

महान्यायाधिवक्ता खातीलाई सर्वोच्च अदालतमा शुक्रबार प्रधानन्यायाधीशले सपथग्रहण गराएका छन्।

राष्ट्रपति कार्यालयले भने शुक्रबार विज्ञप्ति जारी गरी कोरोना महामारीलाई मध्यनजर गर्दै राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने सपथग्रहण कार्यक्रम सर्वोच्च अदालतमा नै गराउन गत बैशाख ५ गते नै परिपत्र जारी गरिएको जनाएको छ। सोही परिपत्र अनुसार महान्यायाधिवक्तालाई सपथ खुवाइएको विज्ञप्तिमा उल्लेख छ।