Loading... आजः २०८२ माघ २१, मंगलवार

सम्मृद्दि का लागि तिनै तहका सरकारहरु विच सहकार्य आवश्यक ; मुख्य मन्त्री शाहि

सुर्खेत – मुख्यमन्त्री जीवनबहादुर शाहीले विकास र समृद्धिका लागि तीन तहका सरकारबीच सहमति, सहकार्य र सहअस्तित्व अपरिहार्य रहेको बताएका छन्। उनले संविधानलेनै तीन वटा सरकारलाई बाँधेको बताउँदै सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए। मुख्यमन्त्री शाहीले स्थानीय सरकारको दायित्व र जिम्मेवारी अझ धेरै रहेको बताए।

‘स्थानीय सरकार चुल्होको सरकार हो,’ कर्णाली प्रदेश समन्वय समितिको छैटौं बैठकमा बोल्दै मुख्यमन्त्री शाहीले भने, ‘प्रदेश देखिने सरकार हो भने संघ सुनिने सरकार हो।’ मुख्यमन्त्री शाहीले जनताका साना–साना समस्या स्थानीय सरकारमा आउने भएकाले त्यस्ता समस्या समाधानको पहिलो दायित्व पनि स्थानीय सरकारको भएको बताए। उनले स्थानीय सरकारका गुनासा र समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताए।

मुख्यमन्त्री शाहीले समयको महत्व सबैले बुझ्नुपर्ने बताए। ‘समय जीवन हो, समय पैसा हो,’ मुख्यमन्त्री शाहीले भने, ‘जनताको सेवाका लागि चुनिएका जनप्रतिनिधिले समयको महत्वलाई बुझ्न आवश्यक छ।’ समिति बैठकमा सहभागी स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश सरकारले जनता र स्थानीय जनप्रतिनिधिबीच द्वन्द्व सृजना गर्ने काम गरिरहेको आरोप लगाए।

नगरपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्ष एवम् नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्काले स्थानीय तहको सिफारिसविनै प्रदेशले अनावश्यक ठाउँमा बजेट पठाएर जनता र जनप्रतिनिधिबीच द्वन्द्वको सुरुवात गरेको बताए। ‘हामीले प्राथमिकता तोकेर पठाएका योजनामा बजेट जाँदैन,’ उनले भने, ‘कार्यकर्ताले छानेका योजनामा बजेट जाँदा अहिले स्थानीय तहका जनप्रतिनिधि र जनताबीच द्वन्द्वको विजारोपण भइरहेको छ।’ उनले आफ्नो पालिकामा प्रदेश सरकारबाट मुल नभएको ठाउँमा खानेपानी आयोजना, खोला नभएको ठाउँमा तटबन्धको योजना परेको बताए।

खार्पुनाथ गाउँपालिका हुम्लामा अध्यक्ष कर्णबहादुर रावलले मुख्यमन्त्री रोजगार कार्यक्रम स्थानीय सरकारको मर्म र भावनाविपरित सञ्चालन भइरहेको बताए। उनले स्थानीय सरकारलाई बेवास्ता गरेर आएको बजेट कार्यान्वयनमा समस्या हुने बताए।

‘बजेट आएको थाहा हुँदैन, काम सम्पन्न प्रतिवेदनका लागि अनुगमन गरिदिनुपर्‍यो भन्दै आउँछन्,’ उनले भने, ‘कहाँबाट कति बजेट आयो, उपभोक्ता समिति कस्ले गठन गर्‍यो केही पनि थाहा हुँदैन।’ नेपालीरैबार बाट