रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले पाका किसानलाई मासिक रुपमा पेन्सन दिने

रुकुम रुकुम पश्चिम- बाँफिकोट गाउँपालिकाले पाका किसानलाई मासिक रुपमा पेन्सन दिने भएको छ ।
गाउँपालिकाको गाउँ सभा तथा गाउँ कार्यपालिकाको निर्णय अनुसार पाका किसानलाई प्रति महिना ५ सय रुपैयाँ पेन्सन दिने निर्णय अनुसार कार्यक्रम कार्यान्वय हुन लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले कार्यविधि बनाएर पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेको हो ।
चालु आर्थिक वर्ष ०७८र०७९ को साउन १ गतेदेखि लागू हुनेगरी किसानलाई हरेक महिना पेन्सन दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले बताउनुभयो। गाउँपालिकाले ५५ वर्ष पूरा भइ ६० वर्ष नपुगेका दलित किसानलाई पेन्सन दिने जनाएको छ ।
गैर दलितको हकमा ६० वर्ष पूरा भइ ७० वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ। गाउँपालिकाका अध्यक्ष केसीले एक घरबाट एक जनाले मात्र पेन्सन पाउने व्यवस्था गरेको बताएका छन । पेन्सनका लागि कुनै पनि खालको सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेको हुनुपर्ने समेत अध्यक्ष केसीले जानकारी दिए।
पेन्सन प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयमा आवश्यक कागजातसहित सम्पर्क गर्न वडा नम्बर ३ का वडाअध्यक्ष चन्द्रबहादुर केसीले अनुरोध गरेका छन । पेन्सनका लागि नागरिकताको फोटोकपी, बैंक खाता र चेकको फोटोकपी बुझाउनु पर्ने वडाध्यक्ष केसीको भनाई छ ।








परिवर्तन संवाददाता
२५ माघ २०७८, मंगलवार १७:०२