मुगु ; विशेषज्ञविहीन जिल्ला अस्पताल
![]()
मुगु — जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा जटिल प्रकारका बिरामीको उपचार गर्न कठिनाइ भएको छ । अस्पतालमा २ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि एक जना पनि कार्यरत नहुँदा जटिल शल्यक्रिया सेवामा असर परेको छ ।
विशेषज्ञ नहुँदा हर्निया, हाइड्रोसिल र एपेन्डिसाइटको शल्यक्रिया गर्न बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, भेरी अस्पताल नेपालगन्ज र कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाउने गरिएको हो । मुगुमा १५ शय्याको अस्पतालमा गर्भवतीबाहेक अरू रोगको शल्यक्रिया गर्न जिल्लाबाहिर जानुपर्दा बिरामी र बिरामीका आफन्तलाई एकातिर आर्थिक भार र अर्कोतिर सास्ती खेप्नुपरेको छ ।
अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक सिद्धाराज खाती गत असोजमा घर बिदामा गएपछि बिरामीको उपचार र शल्यक्रियामा समस्या भएको छ । विशेषज्ञ चिकित्सक नहुँदा जटिल प्रकारका शल्यक्रिया गर्न कठिनाइ भएको अस्पतालका डा. नहकुल शाहीले बताए ।
‘एमडी चिकित्सक नहुँदा आठौं तहका मेडिकल अधिकृतले गर्भवतीको शल्यक्रिया गरेर बच्चा निकाल्नुपरेको छ,’ उनले भने, ‘भौगोलिक समस्या देखाएर विशेषज्ञहरू यहाँ आउन मान्दैनन् ।’
प्रदेश र संघीय सरकारसँग विशेषज्ञ चिकित्सकको माग गरे पनि सुनुवाइ नभएको जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक उमेश गौतमले बताए । उनका अनुसार जिल्ला अस्पताल एक वर्षदेखि व्यवस्थापन समितिविहीन हुँदा पनि कामकाजमा बाधा भएको छ । गत वर्षको असोजदेखि समितिका अध्यक्षलगायत सदस्यको कार्यावधि सकिएपछि अस्पताल व्यवस्थापन समिति नेतृत्वविहीन भएको हो ।







परिवर्तन संवाददाता
५ फाल्गुन २०७८, बिहीबार ०९:००