रारा साइकल लेन निर्माणमा आर्थिक चलखेलको शङ्का
सुर्खेत – रारामा साइकल लेन निर्माणको लागि डिभिजन वन कार्यालयले खोलेको ठेक्कामा कमिसनको चलखेल भएको आरोप लागेको छ । कमिसनमा ठेक्का स्वीकृत गर्न लागेको निर्माण व्यवसायीहरूले वन कार्यालयमाथि आरोप लगाएका छन् । उक्त ठेक्कामा क्याराभान थोदुङ, खडका निशान जेबी र लामा हिमाल बुद्ध कम्पनीको फर्म दर्ता भएपछि आन्तरिक मिलेमतोमा हिमाल बुद्धको फर्म झिक्न लगाएर क्याराभान र खडका निशानलाई प्रतिस्पर्धी बनाएर आर्थिक चलखेलमा क्याभानलाई नै ठेक्का दिन लागिएको स्रोतले जनाएको छ।
साइकल लेन बनाउन कर्णाली प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ४५ करोड आर्थिक सहयोगमा डिभिजन कार्यालयले खोलेको ठेक्कामा मन्त्रालयका सचिवदेखि कार्यालय प्रमुख समेतको मिलेमतो र आर्थिक चलखेलमा गलत मापदण्ड बनाएर ठेक्का सम्झौता गर्न लागेको निर्माण व्यवसायीको आरोप छ । कार्यालयले १३ प्रतिशत भ्याट कटाएर ४५ करोडमा ठेक्का खोलेको हो । जिल्लामा अहिले सम्म यत्रो ठुला लागतमा ठेक्का खोलिएको पहिलो रेकर्ड हो । वन तथा वातावरण मन्त्रालयदेखि वन कार्यालय समेत मिलेर प्रदेश र जिल्लाकै ठुला लागतमा खोलिएको उक्त ठेक्कामा जिल्लाका सम्पूर्ण निर्माण व्यवसायीलाई पन्छाउने गरि आफ्नो आर्थिक चलखेलमा ठेक्का अघि बढाएर ठेक्का दिन लागेको भन्दै जिल्लाका अधिकांश निर्माण व्यवसायीहरू आक्रोशित भएका छन् । रारा साइकल लेन निर्माणका लागि गत आर्थिक वर्ष छुटाइएको ३ करोड रकमले राम्रोसँग काम नै नगरी कार्यालयले निर्माण कम्पनीलाई भुक्तानी दिएको र यो आर्थिक वर्षको ठुला लागतमा पनि स्वयं कार्यालयले गोप्य सेटिङ्ग रहेको देखिएको जिल्लाका ठेकेदारको भनाई रहेको छ ।
रारा साइकल रोड ठेक्कामा प्रदेश मन्त्रालयदेखि वन डिभिजन सम्मको मिलेमतो देखिएको महादेव झयारी निर्माण सेवाका सञ्चालक हरि रावलले आरोप लगाएका छन् । जिल्ला भित्रका कम्पनीलाई पन्छाउने गरि गलत मापदण्ड बनाएर ठेक्का सम्झौता गर्न लागेको उनको आरोप छ । वन कार्यालयले खोलेको उक्त ठेक्कामा जिल्ला भित्र एउटा फर्म पनि मापदण्ड भित्र नरहने देखिए पछि व्यवसायीले विरोध जनाएका छन् । कार्यालयले खोलेको ठेक्कामा क्याराभान, लामा, हिमाल बुद्धलाई प्राथमिकता राखेपछि शङ्का उब्जिएको हो । सार्वजनिक खरिद ऐनमा ठेक्कापट्टामा जति धेरै कम्पनीको प्रतिस्पर्धा भयो उति धेरै राजश्व पनि सङ्कलन हुने र पारदर्शिता पनि देखिने भए पनि वन कार्यालयले तीन वटा कम्पनी मात्र दर्ता गराएको पाइएको छ ।
आर्थिक चलखेलमै रारा साइकल रोडको ठेक्का सम्झौता गर्न लागिएको निर्माण व्यवसायी सङ्घका अध्यक्ष हिमाल टमाटाको आरोप छ । उक्त ठेक्का सार्वजनिक खरिद ऐन विपरीत देखिएको उनको भनाइ छ । २५ करोड सडकमा काम गरेको २३ सय घटमिटर ढुङ्गा बिछ्याएको अनुभव भएको फर्मले मात्र ठेक्का हाल्न सक्ने सूचनामा उल्लेख गरे पछि जिल्लाका व्यवसायीहरूका फर्म दर्ता गर्न सकेका थिएनन् । अर्कोतिर डीपीआरमा भन्दा बजेट चौबर बढाएर मन्त्रालय सित बजेट मागी ठेक्का खोलेको आरोप छ । करिब १२ करोडमा सकिने काम ४५ करोड पुर्याइएकोले जिल्लादेखि मन्त्रालयसम्मको संलग्नतामा मिलेमतो रहेको आशङ्का निर्माण व्यवसायीले गरेका छन् । ठेक्कामा मिलेमतो कसैको छैन,आफ्नो योग्यता नपुगेपछि त्यसको रिसमा कार्यालयलाई मनगणन्ते आरोप व्यवसायीहरूले लगाएको वन डिभिजन प्रमुख भरतबहादुर बुढथापाले बताए ।
डीपीआर बमोजिम ठेक्का अघि बढाइएको हो उनले भने डीपीआर अनुसार क्राइट एरिया नपुग्ने फर्मले त ठेक्का हाल्नै पाउदैनन नि । अहिले सम्म कुनै पनि कम्पनीलाई स्वीकृति गरिएको छैन दुबै वटा फर्म मूल्याङ्कनकै प्रक्रियामा छन् डिभिजन प्रमुख वुडथापाले भने । वन तथा पर्यटन मन्त्रालयमा मेरो अथक प्रयासले यत्रो बजेट ल्याएर ठेक्का आह्वान गरिएको हो बुढथापाले भने जिल्लावासीलाई स्वीकार्य हुँदैन भने क्यान्सील गर्न सकिन्छ । राराको पर्यटन विकासको लागि कर्णाली प्रदेश सरकारले पहिलो वर्षको प्रदेश सभामै रारामा साइकल रोड निर्माण गर्ने भनेर प्रस्ताव पारित गरि ४ करोड छुटाएको थियो पहिलो र दोस्रो वर्ष सम्म उक्त बजेट कार्यान्वयन हुन नसक्दा अलपत्र परेको साइकल रोड तेस्रो वर्षमा ३ करोड बजेटमा निर्माण थालनी गरिएको छ । साइकल रोड सडक उद्घाटनमा तत्कालीन प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाही रारामै पुगेर शिलान्यास गरेका हुन् ।
रारा साइकल रोड ठेक्काको विषयमा आफूलाई कुनै जानकारी नभएको र डिभिजन प्रमुख बुढा थापालाई कार्यालयमा बोलाएर अनियमित भए नभएको बारेमा आफुले बुझ्ने प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । तीन वर्ष भित्र रारा वरिपरि १३ किलोमिटर लम्बाई ३ मिटर चौडाइ रोड निर्माण गरि सक्नु पर्ने कार्य योजनामा तोकिएको भए पनि निर्माण प्रक्रियामा ढिलासुस्ती हुँदा समय मै साइकल लेन निर्माण कार्य सम्पन्न हुनेमा आशङ्का उब्जिएको छ ।








परिवर्तन संवाददाता
१० फाल्गुन २०७८, मंगलवार १८:५८