जगदुल्ला जलविद्युत आयोजनाका लागि २० अर्ब बजेट लाग्ने अनुमान

डोल्पाको जगदुल्ला जलविद्युत आयोजनामा कर्णाली प्रदेश सरकार लगानी गर्न तयार भएको छ । त्यसका लागि आयोजनालाई प्रदेश गौरवको आयोजनामा समावेश गर्न प्रदेश सरकारले माग गरेको हो ।
स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको १०६ मेगावाटको जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी लिँदै कर्णालीका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले कार्यविधिमा ५ प्रतिशत मात्र प्रदेश सरकारले लगानी गर्न नपाउने भन्ने कार्यविधि समेत सच्याउन आग्रह गरे । उनले भने, ‘प्रदेश सरकार अधिकतम रूपमा लगानी गर्ने सोचमा छ । गौरवको आयोजना बनाइ त्यसमा बढी भन्दा बढी शेयर लगानी गर्न प्रदेश सरकार तयार भएको हो ।’
मंगलबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही सहितको उपस्थितिमा बसेको बैठकले जगदुल्लाको बारेमा वृहत् छलफल गरेको थियो । जगदुल्ला जलविद्युत आयोजनाका निर्मित प्रमुख सञ्जय सापकोटाले आयोजनाको प्रगति विवरण विवरण छलफलमा पेश समेत गरेका थिए । उनका अनुसार आयोजनाको ट्रस्ट एडिट टनेलको काम समेत सम्पन्न भइसकेको छ । विद्युत् उत्पादन गृह इलमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको, टेष्ट अडिट टनेलको प्रगति १०० प्रतिशत सम्पन्न भएपछि आयोजनाले गति लिने सङ्केत देखिएको हो ।
यस्तै कुल चारसय मिटर लम्बाइ रहेको नुमना परिक्षण सुरुङमा चार सय मिटर खन्ने काम सम्पन्न भइसकेको तथा जाजरकोट– डोल्पा (भेरी करिडोर ) सडक खण्ड अन्तर्गत जोडिएको त्रिवेणी देखि जगदुल्ला गाउँपालिका –१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडकखण्डलाई ६ महिनाभित्र निर्माण गर्ने लक्ष्य सापकोटाले जानकारी दिए ।
आयोजनाको वातावरणीय अध्ययनको मस्यौदा प्रतिवेदन यही महिनाभित्रै पेश गर्ने र आगामी चैत्र भित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य आयोजनाले लिएको छ । आयोजनाको विद्युत् उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुइवटा भवन निर्माण गरिएका छन । विद्युत् खरिद बिक्री तथा सम्झौताको काम समेत भएको छ । वित्तीय व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले जनाएको छ ।
आयोजना स्थलसम्म जान र आउनका लागि इल, निल दहमा पुल आयोजना आफैँले निर्माण गर्ने भएको छ । जाजरकोट –डोल्पा सडक खण्डको त्रिवणीबाट –इल सम्मको ११ मिलोमिटर र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिएपनि ठेकेदारको ढिलासुस्तीले बल्ल काम सुरु भएको छ ।
वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँग मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडी बढाएर आउँदो आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गर्ने आयोजनाको दाबी छ।
अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनौटको बोलपत्र सम्बन्धी कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निर्मित कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए ।











परिवर्तन संवाददाता
११ फाल्गुन २०७८, बुधबार ०९:११