बन्दकर्ता आगजनीमा उत्रिएपछि वीरेन्द्रनगरमा कर्फ्यू
![]()
सुर्खेत — बन्दकर्ताहरूले सुर्खेतस्थित नेकपा एमाले, माओवादी केन्द्र र कांग्रेसको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेपछि वीरेन्द्रनगरमा कर्प्यू लगाइएको छ ।
एमसीसी पारित भएको विषयलाई लिएर सोमबार बिहानदेखि उत्तेजित भीडले तोडफोड, आगजनीका साथै धनजनको क्षति गर्ने प्रयास गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले सोमबार राति ८ : १५ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनका अनुसार स्थानीय प्रशासन ऐन (संसोधनसहित) २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।
पूर्वमा धुलियाबिट, पश्चिममा बांगेसिमलसहित उत्तरमा वीरेन्द्रनगर नगरपालिका–७ र दक्षिणमा लाटिकोइली शिवमन्दिर हुँदै काँक्रेविहार, देउतीबज्यै एवं सुब्बाकुनासम्म कर्फ्यू लागू हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले सोमबार साँझ वीरेन्द्रनगर–६ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरेका थिए । उनीहरुले कांग्रेस र माओवादी केन्द्रको कार्यालय पनि तोडफोड गरेका छन् । आगजनी र तोडफोडपछि भीड नियन्त्रण गर्न समस्या भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायतका पार्टीले सोमबार बन्द आह्वान गरेका थिए ।









परिवर्तन संवाददाता
१७ फाल्गुन २०७८, मंगलवार ०७:५६