राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना इन्डोनेशिया जाँदै

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन आज साँझ इन्डोनेशिया जाँदै छन्।
उनी अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशियाको संसदको आयोजनामा चैत ४-१० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन इन्डोनेशिया जाने भएका हुन्। उनको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलुका साढे ९ बजे इन्डोनेशियाका लागि उड्ने संघीय संसद सचिवालयले जनाएको छ।
प्रतिनिधि मण्डलमा राष्ट्रियसभा सदस्यहरू भैरवसुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरू सुरेन्द्रकुमार कार्की र उमाशंकर अरगरिया, संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयाल, राष्ट्रियसभा अध्यक्षको प्रमुख स्वकिय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय रहेको संसद सचिवालयले जानकारी दिएको छ।
सो सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो : मोबिलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा प्रस्तुत गर्ने छन्। सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीका वेला संसदले गरेका गतिविधिका सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्ने छन्।
अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठूलो जोखिममा रहेकाले यसबारे कुरा उठाउने बताए। उनले हिमाल पग्लिने क्रम बढेको, तापक्रम बढेकाले अतिवृष्टि, अनावृष्टि जस्ता समस्या आइरहेकाले यिनै विषयमा केन्द्रित भएर सम्मेलनमा सम्बोधन गर्ने बताए।
उनले गर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिने छन्। सो सत्रमा राष्ट्रियसभा सदस्यद्वय श्रेष्ठ र देवकोटा पनि सहभागी हुनेछन्। देवकोटाले महिला संसद् सदस्यको बैठक एवं छलफलमा, उमाशंकर अरगरियाले युवा संसद सदस्यको बैठक एवं छलफलमा भाग लिने संसद सचिवालयले जानकारी दिएको छ।







परिवर्तन संवाददाता
४ चैत्र २०७८, शुक्रबार १६:४४