Loading... आजः २०८३ आश्विन ६, मंगलवार

पिएनजीविरूद्ध दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं – नेपालले आज पपुवान्यूगिनी (पिएनजी)सँगको दोस्रो एक दिवसीय खेल खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा विजयी लक्ष्य साथ मैदान उत्रिँदा पिएनजी जितलाई निरन्तरता दिने ध्याउन्नमा हुनेछ। शुक्रवार भएको खेलमा नेपाल ६ रनले पराजित भएको हो।

पिएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाएको थियो। नेपालका रोहित पौडेलले १२६ रनको कीर्तिमानी शतकीय इनिङ खेलेका थिए। रोहितको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो।

नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भीम सार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २९२ रन बनाएको थियो।

नेपालविरुद्ध कुनै राष्ट्रले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो। दुई खेलको एक दिवसीय सिरिज र त्रिदेशीय टी–२० सिरिजका लागि पिएनजी नेपालको भ्रमणमा आएको हो।