Loading... आजः २०८३ बैशाख ५, शनिबार

वरिष्ठ अधिवक्ता श्रेष्ठ र अधिवक्ता घिमिरेद्वारा बार अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाल बार एशोशिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले पेशागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै  अधिवक्ताद्वय श्रेष्ठ र घिमिरेले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले स्वतन्त्र, स्वच्छ र सक्षम न्यायालयको लागि आफ्नो पेशागत स्वतन्त्र तर्फबाट उम्मेदवारी रहेको बताइन्।

उनले भनिन्, ‘स्वतन्त्र र दक्ष बारको लागि मेरो उम्मेदवारी हो। अब न्यायालयलाई बचाउनु पर्छ।’ पछिल्लो समयमा अदालतबाट जनतामा निराश छाइरहेको दाबी गर्दै श्रेष्ठले न्यायालयले राम्रो काम राम्रोसँग गर्न नसकेकोमा न्यायालय असक्षम ठहरिने टिप्पणी गरिन्।

देशमा संविधान कार्यान्वयन नभएकै कारण देशको अवस्था बिग्रदै गएको उनको भनाइ थियो। अहिलेको व्यवस्था सुनौलो भएको भन्दै उनले यसको बचाउ गर्न पर्नेमा जोड दिइन्। नेपालको संविधान सबै भन्दा ठुलो हो भन्दै श्रेष्ठले संविधान भन्दा माथि कोही जान नहुने धारण राखिन्।

उनले अहिलेको व्यवस्था सबैले ल्याएको भन्दै उनले व्यवस्था ठिक भएपनि त्यसको पुर्ण कार्यान्वयन गर्न नसकेकोमा आपत्ति जनाइन्।

नेपाल बार एसोसिएशन प्रति व्यंग्य गर्दै अधिवक्ता श्रेष्ठले भनिन्, ‘बारमा आज दलबल मात्र होइन, धनबल पनि छ । बारले एकाधलाई मात्रै अघि बढायो र अरुलाई समेट्न सकेन।’ बारमा ७७ जिल्लाका वकिलहरु पनि रहेको स्मरण गराइन्।

त्यस्तै, पछिल्लो समय बारका वरिष्ठ नेतृत्वहरुमा पनि निराशा छाइरहेको उनले जिकिर गरे।  काठमाडौं बासीले त न्यायलयबाट सेवा, सहुलियत नपाएको  भन्दै उनले दुरदराजका जिल्लाहरुले पाउने नसक्ने अहिलेको अवस्थाको अन्त्य गर्नपर्नेमा आफु प्रतिबद्ध रहेको सुनाइन्।

अध्यक्षका अर्का उम्मेदवार अधिवक्ता उद्धवचन्द्र घिमिरेले बारको आगामी निर्वाचनमा आफूले पेशागत स्वतन्त्र तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए। राजनीतिक दलबाट दुई प्यानल चुनावमा उत्रिएको भन्दै विगतमा पनि राजनीतिक दलका प्यानलका नेतृत्वले न्यायालयलाई फाइदा नपुर्याएको दाबी गरे।
नेपाल कानुन आयोगका सदस्य समेत रहेका घिमिरेले भने, ‘राजनीतिक दलहरुको प्यानलबाट आजसम्म जतिपनि बारहरु गठन भए, त्यसका नेतृत्वले न्यायलयलाई फाइदा पुगेको छैन्। अहिले पनि सरकारमा रहेका राजनीतिक दलबाट एउटा प्यानल बनाउनु भएको छ। र अर्को एमालेबाट एउटा प्यानल रहेको छ।’

अध्यक्ष पदको लागि आगामी निर्वाचनमा ८ जना उम्मेदवार रहेको समेत उनले जानकारी दिए। उनले बारमा नेतृत्व गरीरहेकाहरुले रुल अफ ल को कुरा नभई हुल अफ ल को कुरा गरिरहेको आरोप लगाए।