Loading... आजः २०८१ जेष्ठ ५, शनिबार

बेरुत विस्फोटको ३० दिनपछि जीवीत मानिस भेटिनसक्ने भन्दै खोजी कार्य सुरु

बेरुत : लेबननको बेरुतमा भीषण विस्फोटको ३० दिनपछि सम्भावित जीवीत मानिसको उद्धारका लागि उद्धार टोली खटिएको छ ।

भग्नावशेषभित्र शुक्रबार जीवीत मानिस हुनसक्ने भन्दै उनीहरुले खोतलेका छन् । लेबनिस नागरिक रक्षाका प्रमुख जर्ज अबु मुसाका अनुसार सम्भावित जीवीत मानिसहरुको लोकेसन आधा मिटर परसम्म उद्धार टोली पुगेको थियो । बिहीबार खोजी टोली मार मिखाइल क्षेत्रसम्म खोजी गर्दै पुगेका थिए । जुन ठाउँ विस्फोटको केन्द्रविन्दु नजिकै थियो ।

उद्धार टोलीले भग्नावशेषभित्र जीवीत मानिसहरुको स्वास वा धडकन सुन्नसक्ने उपकरण पनि साथमा लिएर खोजी कार्य गरिरहेको छ । जस अनुसार प्रति मिनेट कम्तिमा १८ वटा स्वासप्रस्वास सुन्न सम्भव भएको बताइएको छ ।

केही अधिकारीहरुले भने जीवीत मानिस भेटिनसक्ने सम्भावना ज्यादै न्युन भएको बताएका छन् । यसअघि हाइटीमा शक्तिशाली भूकम्प गएको २८ दिनपछि भग्नावशेषबाट एकजनालाई जीवीत उद्धार गरिएको थियो ।

बेरुतमा उद्धारकार्य जारी रहँदा सयौँ युवाहरुले सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन् । गत अगस्ट ४ मा बेरुतमा शक्तिशाली विस्फोट हुँदा १ सय ९० जनाको मृत्यु हुनुका साथै ६ हजार भन्दा धेरै घाइते भएका थिए । यस्तै ३ लाख भन्दा धेरै विस्थापित भएका थिए । विस्फोटपछि लेबननमा राजनीतिक संकटको पनि जोखिम देखिएको बताइन्छ ।