Loading... आजः २०८१ बैशाख २२, शनिबार

अर्थमन्‍त्री खतिवडाले दिए राजीनामा

काठमाडौँ : अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी ओलीसमक्ष शुक्रबार साँझ उनले राजीनामा दिएका हुन्।

सत्तारुढ दल नेकपाले राष्ट्रियसभाको रिक्त एक पदमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि खतिवडाले राजीनामा दिएका हुन् । उनले गरेको कामको लागि प्रधानमन्त्री केपी ओलीले धन्यवाद समेत दिएका थिए ।

यसैबीच नेकपा उपाध्यक्ष गौतम, सुरेन्द्र पाण्डे र विष्णु पौडेलमध्ये कसैलाई अर्थमन्त्री बनाउने चर्चा भइरहँदा प्रधानमन्त्री केपी ओलीले तत्काल मन्‍त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय नेकपाभित्र आलोचित मन्त्रीमध्ये एक थिए खतिवडा । उनको कर संकलन तथा अन्य कार्यशैलीप्रति धेरैले प्रधानमन्त्रीसँग गुनासो गर्दैआएका थिए । त्यसो त खतिवडा सांसद विना नै मन्त्री बनेका थिए । नियुक्तिको प्रारम्भिक चरणमा खतिवडाको चर्चा भए पनि पछिल्ला दिनमा पार्टीभित्र विवादित बन्दैआएका थिए । अर्थमन्त्रीको रुपमा सपथ खाएका खतिवडाले गोकुल बास्कोटा पदमुक्त भएपछि सञ्चार मन्त्रालयको जिम्मेवारी पनि उनले नै सम्हाल्दैआएका थिए ।