Loading... आजः २०८३ बैशाख ६, आईतवार

पूर्वमन्त्री थापाको अभिव्यक्तिको विरोध

नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले केही दिनअगाडि कांग्रेसको कार्यक्रममा सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्तिप्रति एमालेको युवा तथा महिला संगठनले आपत्ति जनाएको छ।

केही दिन पहिले जिल्लाको छथर जोरपाटीमा आयोजित पार्टी भेलामा महिला र सांसदमाथि लक्षित गरि दिएको अभिव्यक्तिविरुद्ध राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघले मंगलबार संयुक्त पत्रकार भेला गरि विरोध जनाएका हुन्। नेता थापाले भाषणका क्रममा निर्वाचित सांसदहरूप्रति लक्षित गरि सांसदहरूबाटै चेलीबेटी सुरक्षित नरहेको अभिव्यक्ति दिएका थिए।

थापाको सो अभिव्यक्तिपछि एमालेनिकट दुवै संगठनका जिल्ला नेताले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। कुन प्रमाणका आधारमा अभिव्यक्ति दिएको हो? पत्रकार भेलामा जारी विज्ञप्तिमा उक्त प्रश्नको जवाफ खोजिरहेको बताइएको छ। युवा संघका जिल्ला अध्यक्ष प्रविण पोखरेलले पहिलो चरणमा थापालाई चेतावनी मात्र दिइएकोले अब त्यसप्रकारको अभिव्यक्ति दिंदै हिँडे प्रतिवाद गर्ने चेतावनी दिए।

पोखरेलले भने, ‘मञ्चमा उभिएर के बोल्ने, के नबोल्ने भन्ने हेक्का नराख्ने थापाविरुद्ध हामी चुप लागेर बस्ने छैनौं।’ एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले थापाविरुद्ध आफूहरू अभद्र व्यवहारसम्बन्धी कसुरमा कानुनी रुपमा प्रतिवाद गर्ने चेतावनी दिए।

कांग्रेस नेता थापाले पहिले सेनाबाट महिला असुरक्षित रहने गरेको र अहिले सांसदबाट असुरक्षित रहेको अभिव्यक्ति दिएका थिए। त्यसको विरोधमा आयोजित पत्रकार भेलामा चुनावी भाषणका नाममा आफू असल देखिने नाममा, झूटा र कपोकल्पित लान्छना लगाइएको उल्लेख गरिएको छ।