Loading... आजः २०८३ जेष्ठ २४, आईतवार

कमल थापाको इच्छा : एमालेकै चिह्न लिएर निर्वाचनमा जाने

 

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिह्न लिएर आफ्नो पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन्।

 

शुक्रबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचन घोषणापत्र तथा चुनाव चिह्न सार्वजनिकीकरण समारोहमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन्।

उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताए। अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरे। उनले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिह्न लिएर उठ्ने धारणा पार्टीको भएको बताए।

अध्यक्ष थापाले भने, ‘राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग सहकार्य र तालमेल गर्ने नीति लिएको छ। नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ। सम्भव भए आगामी चुनावमा नेकपा एमालेकै चुनाव चिह्न सूर्य लिएर उठ्न सक्ने सम्भावनाबारे समेत म जानकारी गराउन चाहन्छु। यो निर्णय होइन, पार्टीको धारणा हो।’

अध्यक्ष थापाले नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताए। उनले हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दुराष्ट्र कायम गर्ने भन्ने बारेमा आगामी संसदीय चुनावसँगै राष्ट्रिय जनमत संग्रह गर्न पनि माग गरे।