अमेरिकी राष्ट्रपति बाइडेनको एशिया भ्रमण इन्डो-प्यासिफिकमा केन्द्रित हुने
अमेरिकी राष्ट्रपति जो बाइडेन दक्षिण कोरिया र जापानसँगको सुरक्षा गठबन्धनको महत्त्वपूर्ण रहेको प्रमाणित गर्न र क्वाड शिखर सम्मेलनमा भाग लिन यही साता एशिया भ्रमण गर्ने भएका छन्।
राष्ट्रपति बाइडेनको भ्रमणअघि पत्रकार सम्मेलनमा राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले राष्ट्रपतिका रूपमा बाइडेनको इन्डो-प्यासिफिक क्षेत्रको यो पहिलो भ्रमण भएको बताएका छन्।
बाइडेनले युक्रेनको रक्षा र रुसी आक्रमणको विरोधमा स्वतन्त्र विश्वको पक्षमा वकालत गरेका छन्। ती मिसनहरूमा अमेरिकी प्रयासहरू सफल छन् भनी सुनिश्चित गर्न उनी केन्द्रित हुने बताइएको छ। विश्वको अर्को महत्त्वपूर्ण क्षेत्र: इन्डो-प्यासिफिकमा साहसी र विश्वस्त अमेरिकी नेतृत्वलाई बाइडेनले जोड दिने सुलिवानले बताए।
दक्षिण कोरियामा बाइडेनले नवनिर्वाचित कोरियाली राष्ट्रपति युन सुक-योलसँग भेट गर्ने छन्। उनले कोरियामा प्रविधि र निर्माण क्षेत्रका नेताहरूसँग भेटघाट गर्नेछन् र उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्यक्रमबाट उत्पन्न चुनौतीबारे परामर्श गर्नेछन्। जापानमा अमेरिकी राष्ट्रपतिले प्रधानमन्त्री फुमियो किशिदा र उनका टोलीसँग भेट गर्नेछन्। ‘र हामी विश्वास गर्छौं कि अमेरिका-जापान गठबन्धन, यस समयमा, यी दुई नेताको नेतृत्वमा यस समयमा उच्च छ। यो भ्रमणले हामीलाई अझ माथि लैजान सक्छ,’ सुलिवानले भने।
दुई नेताले दुई देशबीचको फराकिलो र गहिरो आर्थिक सम्बन्धका साथै क्षेत्रीय र विश्वव्यापी सुरक्षाका विषयमा छलफल गर्नेछन्। जापानमा बाइडेनले गत सेप्टेम्बरमा वाशिङ्गटनमा आयोजना गरेको शिखर सम्मेलनपछि दोस्रो व्यक्तिगत क्वाड शिखर सम्मेलनमा पनि भाग लिनेछन्।
परिवर्तन संवाददाता
५ जेष्ठ २०७९, बिहीबार १५:३८