Loading... आजः २०८१ बैशाख १९, बुधबार

कर्णालीमा कोरोना संक्रमण दर बढ्दै ; परीक्षण दायरा संकुचित

सुर्खेत – कर्णालीमा कोरोना संक्रमण दर बढ्दो क्रमममा रहेको को प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
पछिल्लो लहरमा असारमा फाटफूट संक्रमित पुष्टि हुने गरेकोमा साउनदेखि भने संक्रमण बढेको हो ।

निर्देशनालयको विवरणले दैनिक सरदर ६ जनामा संक्रमण पुष्टि हुने गरेको जनाएको छ  । निर्देशनालयको शनिवारसम्मको तथ्याङ्कमा प्रदेशभर ५४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणदर बढे पनि परीक्षणको दायरा भने बढाइएको छैन । पीसीआर परीक्षणका लागि सुर्खेत नै पुग्नुपर्ने बाध्यता छ । वीरेन्द्रनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै पीसीआर विधिबाट परीक्षण भइरहेको हो । एन्टिजेन विधिबाट अन्य स्वास्थ्य संस्थाहरूमा पनि परीक्षण गर्ने गरिएको निर्देशनालयले जनाएको छ ।

संक्रमणको ग्राफ बढे पनि परीक्षणको दायरा सीमित हुँदा संक्रमणका आशंकितहरू मर्कामा परेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर गर्न सुर्खेत आउनुको विकल्प नरहेको बिरामीहरूको गुनासो छ । परीक्षणको दायरा बढाउन र विगतमा अपनाइएका सतर्कताका उपायलाई निरन्तरता दिनेगरी तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

कर्णालीमा अहिले पुष्टि भइरहेकामध्ये अधिकांश संक्रमित सुर्खेतका हुन् । दुई सातायताको विवरण हेर्दा यहाँ ३३ प्रतिशतमाथि संक्रमणदर देखिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सूचना अधिकारी अमरबहादुर रानाले साउन लागेयता एक सय २२ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण देखिएको बताए । उनका अनुसार संक्रमण बढेसँगै एन्टिजेन परीक्षणको दायरा विस्तार गर्न जनस्वास्थ्य कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहलाई पत्राचार गरेको छ ।