Loading... आजः २०८१ बैशाख २१, शुक्रबार

सिट बाँडफाँटमा गठबन्धनमा लगभग सहमति, अन्तिम रूप दिने तयारी

पार्टीभित्रको विवाद मिलाउन आन्तरिक छलफलमा देउवा
काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनले प्रतिनिधि र प्रदेशसभाको सिट बाँडफाँटमा अन्तिम सहमति जुटाउने प्रयासमा पुगेको छ। दलहरूबीचकाे महिनाैँसम्म चलेकाे छलफलपछि सिट बाँडफाँटमा सहमति नजिक पुगेकाे हाे। 

प्रतिनिधि सभाको १६५ र प्रदेशसभाको ३३० सिटलाई बाँडफाँटलाई अन्तिम निष्कर्ष दिन गठबन्धनको बैठक बस्न लागेको कार्यदल सदस्य हिमलाल पुरीले बताए।

उनले भने, ‘प्रतिनिधि सभाको अधिकांश सबै सिटमा कुरा मिलिसकेको छ। प्रदेशसभाको पनि सहमति नजिक पुगिसक्यौँ। आज दिउँसोको बैठकले सहमति बन्नसक्छ।’

बुधबार गठबन्धन सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरू सहमति जुटाउन अबेरसम्म बालुवाटारमै बसेकाे थिए। सिट बाँडफाँटमा सहमति जुटाउनको लागि दलका शीर्ष नेताहरु आन्तरिक छलफल छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउन लागिपरेका छन्।

प्रतिनिधिसभाको १६५ सिटमध्ये १५७ सिटमा सहमति बनिसकेको अर्का कार्यदल सदस्यले बताए। उनका अनुसार कांग्रेसले ८५, माओवादी केन्द्र ४१, एकीकृत समाजवादीले १७, जनता समाजवादी पार्टीले १२ र जनमोर्चाले २ पाउने निश्चित भएको छ।

दोहोरो दाबी परेको ८ सिटमा आजको बैठकले टुंग्याउने तयारी रहेको ती नेताले बताए। यस्तै, प्रदेशसभामा पनि दलहरुबीच सहमतिको अन्तिम प्रयास भइरहेको छ।

देउवालाई दबाब 

देउवालाई गठबन्धन जोगाएर पार्टीभित्रको विवाद मिलाएर जान चुनौति बनेको छ। नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीमा रहेको नाममा असन्तुष्टि जनाएपछि देउवालाई दबाब बढेको हो।

संस्थापनइतर समूहले निरन्तर दबाब बढाएपछि समानुपातिकतर्फको सूची सच्चाउन देउवाले पदाधिकारीहरूलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका छन्। पार्टीभित्र देउवाको एकलौटी चलिरहे विद्रोह गर्ने चेतावनीपछि देउवा आन्तरिक छलफलमा जुटेका हुन्।

शनिबार खबरदारी सभा गरेको संस्थापनइतर समूहका दोस्रो तहका नेताहरुले बुधबार पार्टीका कार्यालयमा धर्ना दिएको थिए। बिहिबार बिहान मात्रै नेता कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री थापालगायत शीर्ष तहकै नेताहरुको उपस्थितिमा चियापान तथा खबरदारी कार्यक्रम गरको थियो।

शेखर पक्षका नेताहरूले सिट बाँडफाँटमा कांग्रेसले गठबन्धनका अन्य दलहरूसँग सम्झौता गर्न नहुने भन्दै सभापति शेरबहादुर देउवामाथि दबाब दिँदै आएका छन्। यो समूहले सिट बाँडफाँटमा ४० प्रतिशत भाग पाउनुपर्ने अडान राख्दै आइरहेको छ।

थाहा खबर बाट